हरिवन – केही समययता भईरहेकाे अनियमित विद्युत कटाैती विरुद्द हरिवनमा युवाहरुले विराेध प्रदर्शन गरेका छन् ।
ईलाका प्रशासन कार्यालय हरिवन अगाडी आज (बुधबार) बिहान विद्युतका समस्या लेखिएका प्लेकार्ड बाेकेर युवाहरुले विराेध प्रदर्शन गरेका हुन् । उनिहरुले तत्काल विद्युत समस्या समाधानकाे माग गर्दै ईलाका प्रशासन कार्यालय मार्फत प्रमुख जिल्ला अधिकारी माेहनबहादुर जिसीलाई ज्ञापनपत्र समेत बुझाएका छन् ।

“दिनमा २० पटक भन्दा बढी विद्युत कटाैती हुन्छ, अनि आईहाले पनि अत्यन्त न्युन भाेल्टेज हुन्छ”, हरिवनका युवा युवराज भण्डारीले गुनासाे गरे, “प्रचण्ड गर्मी माैसममा दिनमा दर्जनाैंपटक विजुली जाँदा अाम उपभाेक्ता मारमा परिरहेका छन्, अनलाईन पढनुपर्ने विद्यार्थी पढनबाट बञ्चित भईरहेका छन् ।”
लकडाउन पूर्ण रुपमा नखुलेकाले उद्याेग कलकारखाना लगायत सम्पूर्ण व्यवसाय सुचारु नभएकाे अवस्थामा पनि विजुली कटिरहने र आईहाले पनि अत्यन्त न्युन भाेल्टेजकाे समस्या देखिनु बिडम्बना भएकाे उपभाेक्ताहरुकाे गुनासाे छ । युवाहरुले प्रजिअ जिसी समक्ष बुझाएकाे ज्ञापनपत्रमा विद्युत समस्याबारे तत्काल छानविन गरि समाधान गर्न आग्रह गर्दै त्यस्ताे नगरिए आकस्मिक रुपमा कडा आन्दाेलनमा उत्रन बाध्य हुने चेतावनी समेत दिएका छन् ।
नेपाल विद्युत प्राधिकरण लालबन्दी वितरण केन्द्रले भने विजुली गइरहने समस्या जिल्लाको नभई केन्द्रीय प्रशारण लाइनकै खराबी भएको बताउँदै आएकाे छ । जिल्लामा विद्युतीय उपकरण निकै पुराना रहेका र रौतहटको चन्द्रनिगाहपुरबाट लामो जंगल छिचोल्दै लाईन ल्याउनु पर्दा पनि समस्या बारम्बार आइरहने गरेकाे प्राधिकरणकाे दावी छ ।
फाेटाे क्याप्सन : ईलाका प्रशासन कार्यालय हरिवन अगाडी विराेध प्रदर्शन गर्दै युवाहरु । (तस्बिर : उज्यालाे अभियान)