हरिवन – सर्लाहीका स्थानीय तहहरु बजार खोल्ने निर्णयबाट पछि हट्न थालेका छन् ।
केही स्थानीय तहले निर्णय नै गरेर बजार खोल्न थालेका थिए भने धेरैजसो ठाउँमा पालिकाहरुले निर्णय गर्न नपाउँदै स्वतः स्फूर्त रुपमा बजार खुल्न थालेका थिए । झण्डै तीन महिनादेखिको लकडाउनले हातमुख जोर्नै मुस्किल परेको भन्दै व्यापारीहरु आफैले आ–आफ्नो व्यापार व्यवसाय सञ्चालन गर्न थालेका छन् । कोरोना संक्रमित बढिरहँदा जिल्लाका बजारमा मानिसको भीडभाड बढेको भन्दै आलोचना पनि भइरहेको छ ।
यसबिचमा संक्रमित ह्वात्तै बढेपछि केही पालिकाहरुले भने पुनः बजार बन्द गराउने निर्णय गरेका छन् । हरिवन नगरपालिकाले औषधि पसल प्रत्येक दिन, बैंक तथा वित्तीय संस्था हप्तामा तीन दिन आइतवार, वुधवार र सुक्रवार बिहान १० बजेदेखि ५ बजेसम्म र दुधजन्य पदार्थको बिक्री गर्ने डेरी पसल बिहान ६ बजेदेखि १० बजेसम्म र अपरान्ह ४ बजेदेखि साँझ ७ बजेसम्म खोल्ने निर्णय गरेको छ । यसबाहेक अन्य पसल व्यवसाय असार ३ गतेसम्म बन्द गर्ने निर्णय भएको नगरप्रमुख गणेश प्रसाद प्रसाईले वुधवार सूचना निकालेर जानकारी गराएका छन् ।
उता सदरमुकाम मलंगवा बजार बन्द गराउने निर्णय भएपछि व्यापारीहरुले वुधवार विरोध जनाएका छन् । नगरपालिकाले कोरोनाको बढ्दो संक्रमणलाई मध्यनजर गर्दै बजार बन्द गराउने निर्णय गरेपछि व्यापारीहरुले नगरपालिका घेराउ गर्दै प्रशासनमा ज्ञापन पत्र बुझाएका छन् । व्यवसायले निर्वाध रुपमा पसल व्यवसायी गर्न पाउनु पर्ने माग गरेका छन् ।