logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

भारतका प्रधानमन्त्रीलाई तिमल्सिनाको खुल्ला पत्र !


  • उज्यालो अभियान

– विनय तिमल्सिना

सम्माननीय प्रधानमन्त्री श्री नरेन्द्र मोदी ज्यू,
भारत सरकार, नयाँ दिल्ली, भारत
नमस्कार !
मलाई आशा छ कि प्रधानमन्त्रीज्यू, आपनो अति नै व्यस्त कार्यतालिकाको बावजुद पनि मेरो यो पत्र पढ्नको लागी समय निकाल्नु हुनेछ । नेपाल र भारत सरकार अर्थात दुई मुलुक बीच शताब्दियौं देखि रहिआएको मित्रतापूर्ण सम्बन्ध रहँदै उक्त समय देखि नै दुवै मुलुकका जनस्तरमा पनि आर्थिक, सामाजिक र साँस्कृतिक सम्बन्ध रहिआएको कुरा सर्बबितित नै छ ।

प्रधानमन्त्रीज्यू, म यहाँलाई स्मरण गराउन चाहन्छु कि, नेपाल भ्रमणको बेला संसदमा सम्बोंधन गर्दा नेपाली भाषाको प्रयोग गर्दै बोल्नु भएको थियो। उक्त समयमा नेपाल र भारत पहिले देखि कै भाईद्दभाई को सम्बन्ध रहिआएको तथा दुवै देशको जनस्तरमा पनि रोजगार र बिहावारीका सम्बन्धहरु चलिआएको कुरा बताउनु भएको थियो। साथै उक्त भ्रमणको समय यहाँको बौद्विकताको बयान गर्दै आम नेपाली जनता खुसि भइ यहाँको स्वागत र बिदाईमा कुनै कमि नगरेको कुरा आजको दिनमा पनि कोही नेपालीले विर्सेका छैनन् ।

प्रधानमन्त्रीज्यू, नेपालले नै आफ्ना हजारौ बहादुर जनतालाई भारतमा संकट नहोस् भनि भारतीय सेनामा भर्ति गर्न पठाई रहँदाको अवस्थामा भारतद्वारा नै आफ्नो भुमि अतिक्रमण भएको सुन्दा कस्तो हुन्छौ होला ? अझ, हाल विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)का कारण विश्व नै भयभित भइरहेको समयमा अचानक भारतीय रक्षामन्त्री श्री राजनाथ सिंहज्यू ले मे ८ का दिन भिडियो कन्फ्रेन्स मार्फत नेपाली भूमिको लिपुलेकबाट मानसरोवर जाने सडक उद्घाटन गर्नु भएको समाचार सुन्ना साथ म लगायत सम्पूर्ण नेपाली जनता अचम्मित भएका छौं ।

साथै हिजोको दिनमा भारतीय प्रधानमन्त्री श्री नरेन्द्र मोदीज्यू को नेपाली जनतामाझ रहिआएको लोकप्रियतामा कमि हुदै भारत प्रति हेर्ने सकरात्मक दृष्टीकोण आम नेपाली जनमानसमा परिवर्तन हुदै गइरहेको कुरा प्रधानमन्त्रीज्यू लाई जानकारी गराउन चाहन्छु। म एक सामान्य नेपाली नागरिकको हैसियतले उक्त नेपाली भुमि कालापानी, लिपुलेक र लिम्पियाधुरा भारतले कब्जा जमाइरहेको साथै गुन्जी, नाविढांङ्ग र कालापानीमा स्थायी क्याम्प राखेर भारतीय सेना पनि बसिरहेको छ भन्ने कुरा बिभिन्न पत्र प्रत्रिका तथा टेलिभिजनहरुले समाचार प्रशारण गरिरहेको सुनी रहदा आम नेपाली जनता यस्तो महामारीको बेलामा पनि सडकमा ओर्लेर देशको सार्वभौमसत्ता, स्वाभिमान र अस्मिताको रक्षा गर्नका निम्ति सम्पूर्ण नेपाली एक भै भारतको बिरोध गरिरहेको देख्दा भावुक भई प्रधानमन्त्रीज्यू लाई यस पत्र लेखिरहेको छु ।

त्यसैले अन्तमा म प्रधानमन्त्रीज्यू लाई हाम्रो नेपाली भुमि कालापानी, लिपुलेक र लिम्पियाधुरा सहित समेटी भारत ले त्रुटिपूर्ण छापेको राजनीतिक नक्सा सच्याउनु हुन। हाम्रो नेपाली भुमि गुन्जी, नाविढांङ्ग र कालापानीबाट भारतीय सैनिक बल फिर्ता लैजानु हुन र भारतद्वारा नेपाली भूमिको अतिक्रमण गर्ने कार्य बन्द गराउनु हुन हार्दिक अनुरोध गर्दछु। साथै नेपाल र भारतको सम्बन्धलाई पुनः सुदृढ गर्दै दुई देश बीचको ऐतिहाँसिक, सांस्कृतिक, धार्मिक, आर्थिक र विकासका कार्यमा जोडदिँदै विश्वकै समृद्ध देश बन्न उल्लेखनिय भूमिका निर्बाह गर्दिनुहुन भनि प्रधानमन्त्रीज्यू सामु विशेष आग्रह गर्दछु ।

तपाईंको शुभेच्छुक,
विनय तिमल्सिना
नेपाली युवा
ठेगाना : काठमाडौँ, नेपाल
मोवाइल : ९७७–९८५११७१०८६