logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

विद्युत पोल ढल्दा घरमा क्षति, राहत पाउने आशामा पीडित वृद्धा


  • उज्यालो अभियान

विद्युतपोल लडेर घरमा पुगेको क्षति । (तस्बिर : उज्यालो अभियान)

हरिवन – हुरीबतासले विद्युत पोल ढलेर घरमा क्षति पुगेपछि हरिवन नगरपालिका–८, पुरानोबजार निवासी एक वृद्धाको घरमा क्षति पुगेको छ ।

आर्थिक अवस्था अत्यन्त कमजोर भएकी औसिला देवी धनुकाईनको कच्ची घरको छानामाथि छेउमै रहेको विद्युत पोल लडेको हो । पोल ढलेर छानामाथि लड्दा धनुकाईनको घरको भित्ता लगायतमा समेत क्षति पुगेको छ ।

‘वृद्धा एक्लै घरमा बस्दै आउनु भएको छ, छोराहरु सबै छुट्टिएका छन्, सँगै रहेको कान्छो छोरा पनि जेलमा छ’, स्थानीय समाजसेवी एवं चतुर्भूजेश्वर जनता बहुमुखी क्याम्पस स्ववियु सभापति प्रज्वल ढुंगानाले भने, ‘गाउँमै ज्यालामा काम गरेर जीविका धान्दै आउनु भएकाले उहाँ जस्ता वृद्धालाई भत्केको घर निर्माणका लागि विद्युत प्राधिकरण लगायत सरोकारवाला सरकारी निकायले उचित क्षतिपूर्ति दिए साह्रै राम्रो हुन्थ्यो ।’

हरिवन नगरपालिकाका मेयर गणेशप्रसाद प्रसाईंले पीडित परिवारका लागि क्षतिपूर्ती भराउन विद्युत प्राधिकरणसँग कुरा गर्ने जानकारी दिए । यता नेपाल विद्युत प्राधिकरण लालबन्दीका प्रमुख सुधिर राय भने यस्तो प्रकारको क्षतिमा राहत दिने व्यवस्था नरहेको बताउँछन् । ‘मान्छे वा पशुचौपायाको मृत्यु हुँदाको बखतमा मात्र प्राधिकरणको केन्द्रीय कार्यालयबाट अध्ययन अनुसन्धान गरेर नियमानुसार क्षतिपूर्ति दिने व्यवस्था छ’, रायले भने, ‘विद्युत पोल लडेर हुने यस्तो प्रकारको क्षति वा विद्युत सर्ट भएर ग्राहकको मोटर, टेलिभिजन जस्ता सामग्रीमा क्षति हुँदा पनि राहत दिने व्यवस्था छैन ।’

गत सोमबार साँझ आएको हुरीबतासले लडाएको विद्युत पोलले उक्त क्षति पु¥याएको हो ।