logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

हावाहुरीले आफ्नै घरको जस्तापाताको छानो उडाएर किच्दा युवकको मृत्यु


  • उज्यालो अभियान


कविलासी – सर्लाहीको कविलासीमा हुन्डरीले उडाएको जस्ताले लागेर एक युवकको मृत्यु भएको छ।

सोमबार दिउँसो १२ बजेतिर एक्कासि पानीसहित आएको हावाहुरीले उडाएको जस्ताले लागेर कविलासी नगरपालिका– ३ बिनगरानिवासी सोनेलाल यादवका छोरा १९ वर्षीय राजेश यादवको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

हावाहुरीले यादवको दुईतले घरको जस्ताको छाना उडाउँदा घटना भएको हो। जस्ताले यादवको टाउको, घाँटी र पाखुरामा चोट लागेको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ।

शव परीक्षणका लागि जिल्ला अस्पताल लैजाने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक मदन कुँवरले जानकारी दिए।

हावाहुरीले जिल्लाका अन्य स्थानमा पनि क्षति पुऱ्याएको अनुमान छ। तर, सबैतिरको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।