लालबन्दी, १३ मंसिर – लालबन्दी बजारमा रहेको सिटी डिपार्टमेन्ट स्टोरका एक कर्मचारीमाथि गएराति धारिलो हतियार प्रहार भएको छ भने मोटरसाइकल पनि लुटिएको छ ।
महेन्द्र राजमार्गस्थित लालबन्दी नगरपालिका-१, नवलपुर बागवानी केन्द्र नजिक कर्मचारीमाथि आक्रमण भएको हो । आक्रमणबाट सिटी स्टोरका कर्मचारी लालबन्दी नगरपालिका-७, का ३७ वर्षीय सुजित सिंह घाइते छन् ।
हात र खुट्टामा चोट लागेर घाइते उनको मोडेल अस्पताल लालबन्दीमा उपचार चलिरहेको प्रहरीले बतायो ।
राति ८ बजेतिर सिंह हरिवन बजार क्षेत्रमा पसलको पैसा उठाइ घरतर्फ फर्कनेक्रममा आक्रमण भएको बुझिएको छ । उनले उठाएर पसलतर्फ ल्याउँदै गरेको पैसा भने लुटिए/नलुटिएको प्रष्ट भइसकेको छैन् ।
घटनास्थलमा गोली चलेको भनिए पनि पुष्टी भइसकेको छैन् । सर्लाही प्रहरीका प्रवक्ता एवं डिएसपी वेदप्रसाद गौतमले घटनामा धारिलो हतियार प्रहार भए पनि गोली चलेको पुष्टी हुन बाँकी रहेको बताए ।
डिएसपी गौतमका अनुसार सिंह चढेर आउँदै गरेको मोटरसाइकल भने लुटेराहरुले नै लुटेर लगेका छन् ।
अहिले बिहानसम्म घटनामा संलग्न मानिस पक्राउ पर्न सकेका छैनन् । इलाका प्रहरी कार्यालय लालबन्दीबाट इन्स्पेक्टर श्याम थापा मगरको कमाण्डमा प्रहरी टोली परिचालन भइरहेको छ ।