मलंगवा, १२ मंसिर – स्रोत नखुलेको चार लाख नेपाली रुपियाँसहित जिल्लामा आज दुई भारतीय युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारतको सितामढी इनर्वा ग्राम १ बस्ने २८ वर्षीय गोविन्द गुप्ता रौनियार र २८ वर्षीय रामकुमार राम रहेका सर्लाहीका सशस्त्र प्रहरी उपरीक्षक अमरबहादुर खत्रीले जानकारी दिए । उनीहरु बीआर ३० आर २११९ नम्वरको मोटरसाइकलमा नेपालतर्फ आउनेक्रममा पक्राउ परेका हुन् ।
दुई भारतीयलाई सर्लाहीको सीमावर्ती ब्रह्मपुरी गाउँपालिका-५, इनर्वा नाकाबाट पक्राउ गरिएको सशस्त्र प्रहरीका उपरीक्षक खत्रीले बताए । उनका अनुसार दुई भारतीय युवकको साथबाट नेपाली रुपियाँ ५०० दरका ८०० थान बरामद भएको छ ।
स्रोत नखुलेको रकमसहित पक्राउ परेका दुवै भारतीय युवकलाई शुक्रबार नै नेपाल प्रहरीको जिम्मा लगाइएको सशस्त्र प्रहरीले जनाएको छ । उनीहरु हुण्डी कारोवारी हुन सक्ने अनुमान गरिएको छ ।