लालबन्दी, १२ कात्तिक – सर्लाहीको मौसम आज बिहानैदेखि प्रतिकूल बनेको छ ।
यहाँ कतैकतै पानी छिट्याइरहेको स्थानीय वासिन्दाले बताएका छन् । पानी नपरेको क्षेत्रमा पनि मौसम कालोमैलो भएर धुम्मिएको छ ।
मौसम प्रतिकूल बनेपछि धान भित्याइरहेका किसान चिन्तित बनेका छन् । पानी पर्ने पूर्वानुमानपछि धेरै किसानले त हतारहतार धान भित्याइसकेका थिए ।
तर केही किसानले आज पनि धान बिटा बाध्ने र थ्रेसर लगाउने गरिरहेका छन् । पानी पर्ने डरले कतिपय किसानको पाकेको धान पनि खेतमै रहेको छ ।