(तस्बीर:निरजकुमार यादव)
मलंगवा, २६ असोज – सर्लाहीको मलंगवा नगरपालिका-७, मुसैलीका स्थानीयले आज बिहान पूर्वपश्चिम हुलाकी राजमार्गमा चक्काजाम गरेका छन् ।
मधेश प्रदेश सरकारले मुसैली बड्की पोखरी सौन्दर्यकरणका लागि मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत सात वर्षअघि सात करोड १८ लाख रुपियाँ बजेट विनियोजन गरेको थियो । मधेश प्रदेशका तत्कालिन मुख्यमन्त्री लालबाबु राउत, संघीय सरकारका तत्कालिन मन्त्री महेन्द्र राय यादव, तत्कालिन मधेश प्रदेश सभा सदस्य अशोक यादवलगायत भएर पोखरी सौन्दर्यकरण कार्यको भव्यरुपमा शिलान्यास गरेका थिए ।

चक्काजामको नेतृत्व गरेका सर्लाही क्याम्पस मलंगवाका स्ववियु सभापति सुजितकुमार यादवले अलपत्र अवस्थामा रहेको पोखरी सौन्दर्यकरणको काम अघि बढाउन विभिन्न निकायलाई बारम्बार घच्घच्याउने काम गरे पनि सुनुवाई नभएको गुनासो गरेका छन् ।
स्थानीय वासिन्दाको आन्दोलन स्थगित गराउन र पोखरीको अलपत्र काम अघि बढाउन सर्लाहीका सिडिओ विजयराज सुवेदीले अहिले दिउँसो आन्दोलित युवाहरुसँग छलफल गर्दै छन् ।
