logo
  • आइतवार, अशोज २५, २०८३ / Sunday, Oct, 11 ,2026

सर्लाहीमा रातिदेखि नै वर्षा, धान भिजेपछि किसान मारमा


  • उज्यालो अभियान

लालबन्दी, २४ असोज – आज फेरि परेको पानीले धानको पाँजा भिजाएपछि सर्लाहीका किसान चिन्तित बनेका छन् ।

सर्लाहीमा बिहान दुई तीन बजेदेखि नै चट्याङसहित वर्षा भइरहेको छ । यसअघि अस्ती बिहीबार पनि पानी परेर खेतमा सुकाएको धान भिजाएको थियो ।

आज बिहानैदेखि मौसम प्रतिकूल बनेर धानको पाँजा भिजाउँदा किसान बर्बादीमा परेका हुन् । हरिवन नगरपालिका-५, घुर्कौलीका किसान टेकबहादुर पाख्रिनले फाट्टफुट्ट रुपमा काटेको धान पानी परेर सबै भिजाइदिएको जानकारी दिए ।

पानी पर्दा पाकिसकेको थप धानबाली पनि काट्न नपाएको पाख्रिनले बताए । मौसम उघ्रिएला र धान काटौँला भन्ने आसमा बसेका किसान झरी परेपछि मारमा परेका छन् ।
भारी वर्षा
सर्लाहीमा बिहानीपख केही भू-भागमा भारी वर्षासमेत भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सर्लाहीको नवलपुरस्थित जलमापन केन्द्रमा ६१.२ र मनुषमारा जलमापन केन्द्रमा ५३.४ मिलिलिटर वर्षा मापन भएको छ ।

तत्काल धान नकाट्नु

कृषि ज्ञान केन्द्र सर्लाहीले मौसम प्रतिकूल बनेकाले तत्काल धान नकाट्न आग्रह गरेको छ । कृषि ज्ञान केन्द्र सर्लाहीका सूचना अधिकारी एवं बाली विकास अधिकृत कविन्द्रसिंह ठगुन्नाले छिटो पाक्ने जातको धान (भदैया) काट्ने समय भएपनि तत्काल मौमस खराब भएकाले धान काट्न हतार नगर्न आग्रह गरेका छन् । उनका अनुसार सर्लाहीमा यो वर्ष ४१ हजार हेक्टरमा धानबाली लगाइएको छ ।

चुरेमा समस्या

यस्तै दशैँको मुखमा निरन्तर पानी परेर खोलामा बाढी आउँदा चुरेवर्ती क्षेत्रका स्थानीयलाई लालबन्दी बजारसम्म आउजाउमा असाध्य समस्या परिरहेको छ ।