logo
  • मङ्लबार, अशोज २०, २०८३ / Tuesday, Oct, 06 ,2026

पर्सीदेखि सुखेपोखरीमा स्ववियु कप सुरु हुँदै


  • उज्यालो अभियान

(तस्बीर : घनश्याम बलम्पाकी/उज्यालो अभियान)

सन्जु कर्ण/हरिवन, १८ असोज – सर्लाहीको हरिवन नगरपालिका-१०, सुखेपोखरीमा पर्सी मंगलबारदेखि प्रथम चतुर्भूजेश्वर जनता बहुमुखी क्याम्पस स्ववियु कप हुने भएको छ ।

आयोजक स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले आज पत्रकार सम्मेलन आयोजना गरी प्रतियोगिताबारे जानकारी प्रदान गरेको हो । क्याम्पसको स्ववियु सभापति हिमाल घिमिरेले असोज २० गतेदेखि २७ गतेसम्म प्रथम स्ववियु कप आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी गराएका छन् ।

हरिवन नगरपालिका प्रतियोगिताको संरक्षक रहेको छ । हरिवन नगरपालिकाको सामाजिक विकास समितिका संयोजक तथा ८ नं. वडाका वडाध्यक्ष प्रज्वल ढुंगानाले खेलाडीको उर्बर भूमी हरिवनमा आयोजना गरिएको फुटबल प्रतियोगिता भव्य हुने आश गरिएको बताए ।

हरिवन नगरपालिकाका प्रमुख रमेश बुढाथोकी (कमल) ले दशैँ मनाउन गाउँ आउनेहरुलाई प्रतियोगिताले मनोरञ्जन प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् । हरिवन-१० स्थित खेल मैदानमा आयोजना हुने स्ववियु कपमा ८ वटा टिम सहभागी हुने छन् ।

आयोजकसहित सर्लाहीकै एभरेष्ट एकेडेमी, युनाइटेड युवा क्लब महोत्तरी, गोलबजार स्पोर्टस् क्लब सिराहा, नवजनजागृति युवा क्लब सिमरा बारा, चन्द्रपुर ब्वाइज रौतहट, बेङ्गाडावर फुटबल क्लब धनुषा र वीरगन्ज युनाइटेड पर्सा सहभागी हुने प्रतियोगिताको सल्लाहकार संयोजक रामचन्द्र राईले पत्रकार सम्मेलनमा पत्रकारहरुसँग बताए ।

प्रतियोगिताको बिजेताले नगद एक लाख रुपियाँसहित कप तथा उपबिजेताले ५० हजार रुपियाँ प्राप्त गर्ने छन् ।

सवोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षकलगायत विधागत रुपमा उत्कृष्ट खेलाडीहरुलाई समेत पुरस्कृत गरिने आयोजकले जनायो ।

पत्रकार सम्मेलनमा सुखेपोखरी क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष रामशरण उप्रेती, उपाध्यक्ष अर्जुन पन्त, कोषाध्यक्ष विदुरकुमार प्याकुरेलसमेतको उपस्थिति रहेको थियो ।