लालबन्दी, १८ असोज – सर्लाहीको लालबन्दीमा आयोजित ‘टेक्निकल सेमिनार तथा एम्पाएर कोर्ष’ को आज मधेश प्रदेशका पूर्व मुख्यमन्त्री तथा नेकपा एमाले संसदीय दलका नेता सरोज यादवले उद्घाटन गरेका छन् ।
मधेश प्रदेश आइटिएफ तेक्वान्दो महासंघले लालबन्दी ६ स्थित कम्युनिटी वेलफेयर स्कुलमा आयोजना गरेको कार्यक्रमको आज मध्यान्ह पूर्व मुख्यमन्त्री यादवले उद्घाटन गरेका हुन् । यादवले खेलाडीलाई खेलकुदसँगै आफ्नो पढाइमा पनि उत्तिकै ध्यान दिन कार्यक्रममा आग्रह गरेका छन् ।
कार्यक्रममा मुख्यमन्त्री यादवको हातबाट आइटिएफ टेक्वान्दोका ब्ल्याक बेल्ड प्राप्त खेलाडीलाई प्रमाणपत्र प्रदान गरिएको छ । तीन दिने टेक्निकल सेमिनार तथा एम्पाएर कोर्षअन्तर्गत असोज २५ गते विराटनगरमा आयोजना हुने राष्ट्रिय आइटिएफ तेक्वान्दो प्रतियोगितामा सहभागी खेलाडीहरु छनौट गरिने नेपाल अन्तराष्ट्रिय तेक्वान्दो महासंघका अध्यक्ष एवं मधेश प्रदेश खेलकुद परिषद्का सदस्य प्रभुनारायण शिवाकोटी (श्याम) बताए ।
कार्यक्रममा सहभागी १०० जना प्रशिक्षार्थीलाई शिवाकोटी र राममन्दिर श्रेष्ठ भएर प्रशिक्षण प्रदान गरिरहेका छन् ।
मधेश प्रदेश आइटिएफ तेक्वान्दो संघकी टेक्निकल विभाग प्रमुख दीक्षा खतिवडाको अध्यक्षतामा आयोजित कार्यक्रममा लालबन्दी ८ का वडाध्यक्ष शुक्र पाख्रिन, लालबन्दी १६ का वडाध्यक्ष गणेशबहादुर थापा, उद्योग वाणिज्य संघ लालबन्दीका अध्यक्ष महेशकुमार महतो, लालबन्दी ५ का पूर्व वडाध्यक्ष मोहनहरि भण्डारी, शिक्षक सुदीप कार्कीलगायतको आतिथ्यता रहेको थियो ।