लालबन्दी, १५ असोज – सर्लाहीमा डाँडापाखा, मैदान तथा खोला किनार क्षेत्रमा काँस फूलेर सेताम्मे भएसँगै मनोरम दृश्य देखिन थालेको छ ।
दशैँ, तीहार, छठजस्ता प्रमुख चाडपर्व नजिकिँदै गर्दा जताततै ढकमक्क भएर काँस फूल्दा प्राकृतिक सौन्दर्यता बढेको हो । सेताम्मे भएर फूलेको काँसले शरद ऋतुको आगमनको सङ्केत दिन थालेको छ ।
जिल्लाको बागमती, लखन्देही, फूलजोर, बाँके, कालिन्जोर, झिम, हर्दी, चापिनी, एकादशीलगायत प्रत्येक नदी तथा खोला किनारमा अहिले काँस फूलेर ढाकेको स्थानीयले बताएका छन् । लालबन्दी नगरपालिका–३, जब्दीका वडाध्यक्ष वुद्धदेव चौधरीले फूलजोर खोला किनारमा ढकमक्क भएर फूलेको काँस हेर्दा असाध्य रमाइलो र आनन्द महसुस हुने गरेको बताए ।
खोलामा काँस फूलेपछि साँझ बिहान पुलमाथि बसेर मोवाइलबाट काँसघारीको तस्बिर कैद गर्ने र अवलोकन गर्नेहरु बढेका वडाध्यक्ष चौधरीले जानकारी दिए । उनका अनुसार घाँस प्रजातिमा पर्ने काँस छठ पर्वमा विभिन्न सामग्री बनाउन र घर छाउन खरको रुपमा समेत प्रयोग गर्ने गरिन्छ ।
ग्रामीण भेगमा काँस फूलेपछि रोगब्याधि हट्ने र किसानले लगाएको बालीनाली सप्रिने जनविश्वाससमेत पाइन्छ । सामुदायिक वन उपभोक्ता महासंघ सर्लाहीका अध्यक्ष सीताराम पोखरेलले खोला किनारमा जरा फैलाएर उम्रने काँसले माटो समाएर राख्ने भएकाले बर्खायाममा हुने कटान रोक्न धेरै मद्धत गर्ने बताए ।
चरिचरण निषेध गरिएका वन क्षेत्र तथा खोलाहरुमा अहिले बाक्लो मात्रामा काँस संरक्षण भएका पोखरेलको भनाइ छ । उनले हिउँदमा सुक्खा देखिने खोला किनार अहिले काँसका कारण हराभरा बन्न पुगेको बताए ।
पछिल्लो समय वस्तुभाउ पाल्नेक्रम कम भएसँगै खोला क्षेत्रमा चरिचरण कम भएपछि काँस बढ्दै गएको हरिपुर नगरपालिका–२, सखुवाका ध्रुवप्रसाद प्रसाईले जानकारी दिए । अहिले हरेक ठाउँमा आउजाउ गर्दा चारैतिर काँस नै काँस फूलेर आकर्षक देखिन थालेको प्रसाईको भनाई छ ।