अनिता देवकोटा/लालबन्दी, ०९ असोज – दुई दिनदेखि पानी पर्दा सर्लाहीमा तरकारी उत्पादन गर्ने किसान तथा बिक्रीमा संलग्न व्यक्तिहरु प्रभावित बनेका छन् ।
लगातारको झरीले आजदेखि काठमाडौँ उपत्यकातर्फ तरकारी लिएर जाने मुख्य सडकहरु बन्द भएपछि सर्लाहीमा उत्पादन भएका तरकारी निकासीमा समस्या पैदा भएको हो । वर्षाका कारण स्थानीय थोक बजारमा पनि तरकारी कम भित्रन थालेको छ ।
लालबन्दीस्थित कृषि थोक बजार व्यवस्थापन समितिका अध्यक्ष प्रमोदकुमार थपलियाले काठमाडौँ जाने मुख्य राजमार्गहरु अवरुद्ध बनेसँगै तरकारी निकासीमा चिन्ता थपिएको बताएका छन् ।
लालबन्दी थोक तरकारी बजारमा किसानले ल्याएर बिक्री गर्ने बोडी, घिरौला, काक्रो, गोलभेँडा, सिमीलगायत सिजन अनुसारको तरकारी काठमाडौँ उपत्यकासहित अन्य सहरहरुमा दैनिक आठदेखि १० ट्रकसम्म निकासी हुने गरेको बजार समितिले जनाएको छ ।
एकदिन मात्रै पनि गाडी बन्द भए हरियो तरकारी बाटोमै सुकेर व्यापारी बर्बाद हुने अवस्था आउने व्यापारीको भनाइ छ ।
लालबन्दीस्थित थोक तरकारी बजार डुमडुमेमा आज किसानले नै साइकल, मोटरसाइकल, टेम्पुलगायतका साधनमा भिजेरै भए पनि कम परिमाणमा तरकारी बिक्रीका लागि ल्याए ।
वर्षा लम्बिए तरकारीको उत्पादनमा व्यापक गिरावट आउने किसानको भनाइ छ ।
उत्पादन घट्नासाथ तरकारीको मुल्य बढ्ने भएकाले उपभोक्ता प्रभावित हुने गरेका लालबन्दी ७ की प्रमिला सिंहले बताईन् ।