हरिपुर, ०७ असोज – सर्लाहीको हरिपुर नगरपालिका २ मा रहेको ग्रामीण नारी उत्थान संघको आज ३४ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
संस्थाकी अध्यक्ष गोमादेवि न्यौपानेको अध्यक्षता, संविधान सभा सदस्य रामचन्द्र चौधरीको प्रमुख आतिथ्यता र नगरप्रमुख गोपाल पजियारको विशिष्ठ आतिथ्यतामा संस्थाको आफ्नै सभाहलमा वार्षिक साधारण सभा सम्पन्न भएको हो । संस्थाका सचिव सूर्य चालिसेको संचालन, कार्य समिति सदस्य रीता न्यौपानेको स्वागत रहेको कार्यक्रममा वार्षिक प्रतिवेदन खडक नारायण चौधरीले प्रस्तुत गरेका थिए ।
संस्थाले गत आर्थिक वर्ष २०८२/०८३ मा जम्मा बजेट १० करोड २९ लाख ९७ हजार २५९ रुपैयाँ ८ पैसामध्ये १० करोड ५ लाख ७१ हजार ५७ रुपैयाँ खर्च भएको जानकारी गराइएको छ । साधारण सभाको अवसरमा संस्थाका उपाध्यक्ष विष्णुप्रसाद चालिसे, सचिव सूर्यप्रसाद चालिसे, सदस्यहरु शान्तिदेवी महरा, चितोरिया देवी, रमा पौडेल, साधारण सदस्य भगोरी कुँवर, कर्मचारीहरु प्रवीणकुमार साह र मिथलेशकुमार महतोलाई सम्मान गरिएको छ ।
अध्यक्षमा फेरि न्यौपाने
साधारण सभाको बन्द सत्रले पुनः गोमादेवी न्यौपाने नै अध्यक्ष रहने गरी ग्रामीण नारी उत्थान संघको नयाँ कार्य समिति चयन गरेको छ ।
उपाध्यक्षमा शोभियतादेवी कुवर, कोषाध्यक्षमा सीमा कोइराला, सचिवमा अर्जुन खतिवडा, सहसचिवमा कविता महरा, सदस्यहरुमा रीता न्यौपाने, बन्दना निरौला, तुलाकुमारी मैनाली, टिकामाया राई, रन्जना धामी र गीता बस्नेत चयन भएका छन् ।
सल्लाहकार समितिमा विष्णुप्रसाद चालिसे संयोजकसहित रमाकुमारी चालिसे, बिन्दा थापा, नेत्रकुमारी कार्की र शान्तिदेवी महरा सदस्यमा चयन भएका छन् ।
त्यसैगरी सीमा कोइराला संयोजक रहेको लेखा समितिमा भक्तिदेवी चौधरी र नम्रता ढुंगाना सदस्यमा चयन भएका छन् ।
ग्रामीण नारी उत्थान संघले विभिन्न गैरसरकारी निकाय, पालिकालगायतसँग समन्वय गरी सर्लाही र महोत्तरीका विभिन्न पालिकाहरुमा शिक्षा, स्वास्थ्य, खानेपानी, जिविकोपार्जनलगायत क्षेत्रमा काम गर्दै आइरहेको छ ।