मलंगवा, ०७ असोज – मौसम पूर्वानुमान महाशाखाले तीन दिन भारी वर्षाको आँकलन गरेपछि सर्लाहीमा आज जिल्ला विपत् न्यूनिकरण तथा व्यवस्थापन समितिको बैठक बसेको छ ।
मलंगवामा प्रमुख जिल्ला अधिकारी (सिडिओ) विजयराज सुवेदीको अध्यक्षतामा विपत्को सम्वन्धमा बैठक बसेको हो । बैठकले सम्भावित जोखिमलाई मध्यनजर गर्दै असोज ९ गते शुक्रबारदेखि ११ गते आइतबारसम्म नदी किनारका सडकहरुमा तथा अत्यावश्यक कामबाहेक रातको समयमा लामो यात्रा नगर्न सर्वसाधारणलाई सूचित गर्ने, नदी तथा खोला किनारका बस्तीमा स्थानीय तहका प्रतिनिधि, विपत् व्यवस्थापन स्वयंसेवक तथा नजिकका प्रहरी इकाइले तत्काल खटिएर माइकिङमार्फत बाढीको जोखिमबारे पूर्वजानकारी गराउने र सुरक्षित स्थानतर्फ जान अनुरोध गर्ने निर्णय गरेको छ ।
बैठकमा स्थानीय विपत् व्यवस्थापन समिति र जिल्लास्थित सुरक्षा निकायले आवश्यक उद्धार सामग्रीसहित तयारी अवस्थामा रहने, जिल्लाका उद्योगबाट उत्पादन हुने दालमोठ, चामल, चिउरा, चिनी, खानेपानीलगायतका सामग्री असोज ९ गतेदेखि ११ गतेसम्म जिल्ला बाहिर नपठाइ जिल्लामै होल्ड गरेर राख्ने, नदी किनार वा बाढी डुबानको जोखिममा पर्न सक्ने विद्यालयहरुमा स्थानीय तहले औचित्यताको आधारमा सार्वजनिक बिदा दिने, राजनीतिक दलले आफ्नो स्थानीयस्तरका समितिलाई सर्कुलर गरी जनतालाई सतर्क र सजग रहन सूचना सप्रेषण गर्नेलगायतका निर्णय भएका छन् ।
मौसम पूर्वानुमान महाशाखाले मधेशप्रदेशको सर्लाहीमा समेत भारी वर्षाको आँकलन गरेरकाले बुधबार जिल्लाका पालिकाका प्रमुख, राजनीतिक दलका प्रतिनिधि, विपत्को क्षेत्रमा क्रियाशील सङ्घसंस्थाका प्रतिनिधिलगायतलाई बोलाएर बैठक गरिएको हो ।
यसैबिच सर्लाहीमा आज अपरान्हपख विभिन्न भू–भागमा वर्षा भएको छ । चुरेवर्ती क्षेत्रमा एकैछिन ठूलो पानी परेर खोलाखोल्सामा बाढी आउँदा जनजीवन प्रभावित बनेको लालबन्दी नगरपालिका–१४, नारायणखोलाका भीमबहादुर पाख्रिनले जानकारी दिए ।
मौसमविद्ले तीन/चार दिन भीषण वर्षा हुने आँकलन गरेकाले सर्लाहीसहित मधेश क्षेत्रका किसान पाक्न लागेको धान बाली, तरकारी खेतीलगायतमा क्षति पुर्याउने हो कि भन्ने चिन्तामा रहेका छन् ।
बिहानैदेखि चर्को गर्मी खेपिरहेका स्थानीयले पानी परेर चिसो हावा चल्दा राहत महसुस गरेका छन् ।