logo
  • बुधबार, कार्तिक १२, २०८३ / Wednesday, Oct, 28 ,2026

बाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा दीप प्रज्वलन


  • उज्यालो अभियान

जियाजोर, ०१ असोज – भोटेकोशी बाढीमा परेर ज्यान गुमाएकाहरुको सम्झनामा लालबन्दी नगरपालिका ११ र १२ को सीमास्थित लखन्देहीखोलामा निर्माण गरिएको पुलमा दीप प्रज्वलन गरिएको छ ।

भर्खरै निर्माण सम्पन्न भएको उक्त पुलमा लालबन्दी र हरिवन नगरपालिकाका स्थानीय वासिन्दाको भव्य उपस्थितिमा दीप प्रज्वलन गरिएको हो । बाढीमा परेर ज्यान गुमाएकाहरुको चिरशान्तिको कामना गर्दै दीप प्रज्वलन गरिएको लालबन्दी १२ का वडाध्यक्ष दुर्गाबहादुर आले मगरले जानकारी दिए ।

स्थानीय बाबुलाल मोक्तान, उमेश ठोकर, सुरेन्द्र लामालगायतको नेतृत्वमा भव्य रुपमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको हो । लालबन्दी नगरपालिका १२ नं. वडा कार्यालय र हरिवन २ लालभित्तीमा रहेको ज्याङछ्युप छ्योईलिङ गुम्बाको संयुक्त आयोजनामा दीप प्रज्वलन गरिएको वडाध्यक्ष आलेले बताए ।

दीप प्रज्वलनमा लालबन्दी १२, १३ र हरिवन २ का जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि, स्थानीय अगुवा, सर्वसाधारणलगायतको बाक्लो उपस्थिति रहेको थियो ।

भर्खरै निर्माण भएर भाइरल भएको लखन्देहीखोलाको पुलमा राष्ट्र्रिय झण्डा बनाएर दीप प्रज्वलन गर्दै भोटेकोशी बाढीमा परेर ज्यान गुमाएकाहरुप्रति भावपूर्ण श्रद्धान्जली व्यक्त गरिएको हो ।