जुटपानी, २६ भदौ – सर्लाहीको लालबन्दी नगरपालिका-२, जुटपानीमा रहेको पद्म–भुवनेश्वरी नमूना वृद्ध सेवाश्रममा आज कुशे औँसी अर्थात् बुवाको मुख हेर्ने दिन पर्व मनाइएको छ ।
मधेश प्रदेशसभा सदस्य एवं प्रदेश सरकारकी पूर्व मन्त्री बेची लुङ्गेलीको प्रमुख आतिथ्यतामा वृद्ध बुवाहरुलाई सम्मान एवं मिष्ठान्न भोजन गराउँदै कुशे औँसी पर्व मनाइएको हो । कुशे औँसीको दिन आश्रमले बर्सेनि यस प्रकारको कार्यक्रम गर्दै आइरहेको छ ।

कार्यक्रममा प्रदेशसभा सदस्य लुङ्गेली, लालबन्दी ७ का वडाध्यक्ष कृष्णकुमार कार्की, ईश्वरपुर ८ का वडाध्यक्ष श्याम थापा, अधिकारकर्मी सुशील शर्मा, घुर्कौली बालगृहका अध्यक्ष सुरेन्द्र लामा, नेपाल हृदयरोग प्रतिष्ठान सर्लाहीका सभापति शिवप्रसाद न्यौपाने, सर्पदंश उपचार केन्द्र नवलपुरका अध्यक्ष उद्धवप्रसाद पौडेललगायतले मन्तव्य राख्दै पछिल्लो समय आफ्नै आमाबुवालाई नै अपहेलित गर्ने समाजमा जुटपानी वृद्धाश्रममा भने २०५५ सालदेखि बेसहारा आमाबुवाको पालनपोषण गरेर उदाहरणीय र पुण्यको काम भइरहेको उल्लेख गरेका छन् ।

सयौँ वृद्धवृद्धाको पालनपोषण गरिसकेको आश्रममा आउन पाग्दा पुण्यको थलोमा आएको अनुभूति हुने सहभागीहरुले बताए । कुशे औँसीका दिन आश्रममै बसोवास गर्ने तथा आश्रम आसपासका वृद्ध बुवाहरुलाई बोलाएर सम्मान गरिएको आश्रमकी अध्यक्ष भवानी कोइरालाले जानकारी दिईन् ।

सहभागीहरुले गत वर्ष मात्र निधन हुनुभएका आश्रमका संस्थापक संरक्षक एवं प्रजातन्त्र सेनानी वासुदेवशरण कोइरालाको जीवनी र आश्रम स्थापना गरेर बेसहारा तथा अपहेलित वृद्धवृद्धाको सहारा बनी गरेको सेवाको मुक्तकण्ठले प्रशङ्सा गरेका छन् ।