logo
  • बुधबार, कार्तिक १२, २०८३ / Wednesday, Oct, 28 ,2026

लालबन्दीका तीन जनाको कुशको शव बनाइ अन्त्येष्टि


  • उज्यालो अभियान

लालबन्दी, २६ भदौ – यही भदौ १० गते भोटेकोशी नदीको बाढीमा परेर बेपत्ता भएका लालबन्दीका तीन जनाको शुक्रबार कुशको शव बनाइ अन्त्येष्टि गरिएको छ ।

रसुवा जिल्लास्थित तीर्थस्थल गोसाइकुण्ड जानेक्रममा आफूहरु सवार गाडीसहित सम्पर्कविहीन भएका लालबन्दी नगरपालिका-५, मेजरगन्जका ५२ वर्षीय चिरन्जीवी खतिवडा, ५० वर्षीय द्धारिकाप्रसाद दङ्गाल र ४९ वर्षीय कृष्णप्रसाद धमलाको कुशको शव बनाइ अन्त्येष्टि गरिएको हो । खतिवडाको लालबन्दी-५ मा रहेको झिरझिरे दह तथा दङ्गाल र धमलाको सर्लाही र रौतहटको सीमा भएर बग्ने बागमदी नदीमा अन्त्येष्टि गरिएको हो ।

उनीहरुसँगै बेपत्ता गाडीधनी लालबन्दी नगरपालिका-९, बस्तीपुर घर भइ काठमाडौँ बस्ने ५२ वर्षीय माधव काफ्ले र उनका छोरा २२ वर्षीय अनुज काफ्लेको भने काठमाडौँमै अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ । गोसाइकुण्डमा जनैपूर्णिमा दिन लाग्ने मेला भर्न र दर्शन गर्न भनी गएका पाँच जना भदौ १० गते बिहान ९ बजेपछि सम्पर्कविहीन छन्


।
पन्ध्र दिनसम्म कुर्दा पनि सम्पर्कविहीनहरुको अवस्था थाहा हुन नसकेपछि परिवारले कुशको शव बनाएर अन्त्येष्टि गरेका हुन् । सम्पर्कविहीन रहेका चिरन्जिवी खतिवडाका बुवा कृष्णप्रसाद खतिवडाले छोरा जिवितै फर्किएर आउने आस नरहेकाले अन्त्येष्टि गरिएको बताए ।

भदौ १० गते बिहानसम्म टेलिफोनमा सम्पर्क भएकाहरुको परिवारका सदस्य बाढीपछि एकाएक सम्पर्कविहीन भएकाहरु पन्ध्र दिनसम्म पनि जिवितै फर्कने आसमा बसेका थिए ।

दुई साता बित्दासमेत अवस्था थाहा हुन नसकेपछि सास र लास दुवैको आस मार्दै परिवारले कुशको शव बनाएर अन्त्येष्टि गरेका हुन् ।

बाढीमा परेर सम्पर्कविहीन भएकाहरुको अन्त्येष्टिमा जनप्रतिनिधि, राजनीतिज्ञ, समाजसेवी, साथीसङ्गी, सञ्चारकर्मी, गाउँलेलगायत उल्लेख्य रुपमा सहभागी भएका छन् ।