logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

नेपालकै दोस्रो मर्यादित महिनावारी मैत्री वडा घोषणा


  • उज्यालो अभियान

वुद्धबहादुर विश्वकर्मा (दीपक)/लालबन्दी, २५ भदौ – आज लालबन्दी नगरपालिका-१०, चन्द्रपुरलाई दोस्रो मर्यादित महिनावारी मैत्री वडा घोषणा गरिएको छ ।

महिनावारी हुँदा महिलामाथि हुने विभेद र छुवाछुत अन्त्य भएको दाबी गर्दै मधेश प्रदेशसभा सदस्य बेची लुङ्गेलीको प्रमुख आतिथ्यतामा लालबन्दी १० लाई देशभरमै दोस्रो मर्यादित महिनावारी मैत्री वडा घोषणा गरिएको हो ।

कार्यक्रममा नगरप्रमुख वासुदेव अधिकारी, प्रमुख प्रशासकीय अधिकृत पितानाथ लुइँटेल, राधा पौडेल पाउण्डेसनकी अध्यक्ष राधा पौडेल, बाल संरक्षण संस्थाकी अध्यक्ष राधा घिमिरेलगायतले मन्तव्य व्यक्त गरे । सोही कार्यक्रममा फूलबारी महिला समूह लालबन्दी–१० की सदस्य मनिसा विकले महिनावारी त महिलामा हुने सामान्य प्राकृतिक स्वास्थ्य प्रक्रिया हो रहेछ भन्ने कुरा बुझेपछि महिनावारीको समयमा खाना पकाउने, पूजाअर्चनालगायत सबै काम गर्न थालिएको सुनाईन् ।

महिनावारीकै कारण हुने विभेद अन्त्यका लागि लागि लालबन्दी–१० मा वडा कार्यालयले विगत तीन वर्षदेखि राधा पौडेल फाउण्डेसन र बाल संरक्षण संस्था लालबन्दीसँग समन्वय गरी सचेतनामूलक अभियान सञ्चालन गर्दै आइरहेको थियो । अभियानलाई सफल बनाउन सहयोग गर्ने व्यक्तिहरुलाई कार्यक्रमकै अवसरमा सम्मानसमेत जनायो ।

“यौन तथा प्रजनन स्वास्थ्य अधिकारका लागि मर्यादित महनिावारी” परियोजना अन्तर्गत यसअघि गत बैशाख ११ गते लालबन्दी नगरपालिका ३ नं. वडालाई नेपालकै पहिलो मर्यादित महिनावारी मैत्री वडा घोषणा गरिएको थियो । प्रत्येक घरधुरीको सर्भे गर्दा लालबन्दी–१० का सम्पूर्ण महिलाले महिनावारीको समयमा कुनै विभेद र छुवाछुत भोग्न नपरेको बताएका र नेपाल सरकारले बनाएको अन्य आवश्यक सूचकसमेत पूरा गरेर मर्यादित महिनावारी मैत्री वडा घोषणा गरिएको परियोजना संयोजक सम्झना धितालले जानकारी दिईन् ।

मर्यादित महिनावारी मैत्री वडा घोषणाका लागि नियमित बैठक गर्ने, सम्झाइबुझाइ गर्ने, सडक नाटक प्रदर्शन गर्नेजस्ता गतिविधि गरिएको लालबन्दी १० को वडा कार्यालयले जनाएको छ । मर्यादित महिनावारी मैत्री घोषणा भएका तथा हुने चरणमा रहेका वडाहरुमा वडा कार्यालय, विद्यालयलगायतका सार्वजनिकस्थललाई महिलामैत्री बनाउँदै लगिएको वडाध्यक्ष टोपबहादुर श्रेष्ठले बताएका छन् ।

यसअघि गत बैशाख ११ गते लालबन्दी नगरपालिका ३ नं. वडालाई नेपालकै पहिलो मर्यादित महिनावारी मैत्री वडा घोषणा गरिएको थियो ।