जेनजी आन्दोलनमा आगजनी भएपछि प्रयोगविहीन बनेको लालबन्दी नगरापलिका ५ नं. वडा कार्यालय । (तस्बीर : उज्यालो अभियान)
लालबन्दी, २४ भदौ – गत वर्ष भदौ २४ गते जेनजी आन्दोलनका क्रममा सर्लाहीमा आगजनी गरेर क्षति पुर्याइएका सरकारी सवारी साधन र भवन कसरी प्रयोगमा ल्याउने भन्ने विषय अझै पनि अन्यौलमै रहेको छ ।
जनप्रतिनिधि र कर्मचारी जलाइएका सवारी साधन, उपकरण र भौतिक संरचना प्रयोगमा ल्याउनेबारे अलमलमै रहेका हुन् । जिल्ला प्रशासन कार्यालयका अनुसार एक वर्षअघि जेनजी पुस्ताको आन्दोलनमा तोडफोड र आगजनी हुँदा सर्लाहीमा ६३ करोड ५५ लाख बराबरको सार्वजनिक सम्पत्तिमा क्षति पुगेको थियो ।
आगजनी र तोडफोडबाट पूर्ण क्षति बेहोरेको लालबन्दी नगरपालिकामा आगजनी भएका सवारी साधन र भवन अलपत्र नै रहेका छन् । लालबन्दी-८ स्थित ज्येष्ठ नागरिक भवनबाट सञ्चालित नगरपालिका भवन रङ्गरोगन र मर्मत गरेर सञ्चालनमा ल्याइए पनि वडा कार्यालयहरु र जलेका सवारी साधन अहिले पनि असरल्ल देखिन्छन् ।
लालबन्दी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पितानाथ लुइँटेलले जलेका कुनै पनि भवनको बीमा नरहेको र बीमा रहेका गाडीहरुको भने बीमा कम्पनिबाट केही रकम प्राप्त भएको बताए । अन्य गाडीहरुको थोरै रकम आए पनि मुख्य सवारीको रुपमा रहेको जेसिबी कै बीमा क्षतिपूर्तिबापत प्राप्त हुनुपर्ने रकम नआएको प्रमुख प्रशासकीय अधिकृत लुइँटेलले बताए ।
नगर कार्यपालिका बैठकले जलेका सवारी साधन लीलाम गर्ने र पालिकाबाट मर्मत गरेर सञ्चालनमा ल्याउन सकिने सवारी साधन भने प्रयोगमा ल्याउने निर्णय गरेको उहाँले बताउनुभयो । उनले भने, “कार्यपालिकाबाट निर्णय भए बमोजिम अबको बजेटबाट मर्मत हुने सवारी साधन मर्मत गरेर प्रयोग गर्छौ ।”
जेनजी आन्दोलनमा जलाइएकामध्ये बरहथवा नगरपालिका र चन्द्रनगर गाउँपालिका सभा हल पार्टेसन गरेर सञ्चालनमा ल्याइएको छ भने हरिपुर नगरपालिका व्यावसायिक भवनबाट सञ्चालनमा ल्याइएको छ । हरिवन नगरपालिकाले जलेकै भवन मर्मत तथा रङ्गरोगन गरेर कार्यालय सञ्चालन गरिरहेको छ ।
जेनजी आन्दोलनमा जलाइएको हरिवन नगरपाकिलाको दमकल त्यसै थन्किएको छ । दमकल जलाइएपछि उत्तरी भेगमा दमकलको अभाव खड्किरहेको छ ।
हरिवन नगरपालिकाका प्रमुख रमेश बुढाथोकी (कमल) ले जेनजी आन्दोलनमा आगजनीबाट क्षतिग्रस्त ट्याक्टर, जेसिबीलगायतका सवारी साधन लीलाम गर्न लागिएको र मर्मत गरेर पूर्ववत् रुपमै सञ्चालनमा ल्याउन सकिने भए दमकल भने मर्मत गर्ने सोँच बनाइएको बताए । मर्मतका लागि पहल गर्दा क्षतिग्रस्त दमकल पहिलेको झैँ सञ्चालन हुनेबारे ग्यारन्टी नरहेको जवाफ आएपछि अलमलमा परिएको बताए ।
अहिले बरहथवा, चक्रघट्टालगायत पालिकाहरुसँग भएको भन्दा पनि हरिवन नगरपालिकाको दमकल बढी क्षमताको रहेकाले यस क्षेत्रको आवश्यकतालाई मध्यनजर गर्दै दमकल मर्मतका लागि प्रयास गरिरहेको नगरप्रमुख बुढाथोकीले बताए । उनले भने, “एक पटक मिस्त्रीलाई देखाउँदा आठ/दस लाखमा मर्मतको काम गर्न सकिन्छ तर पहिले जस्तै गरी सञ्चालनका ग्यारेन्ट छैन् भनेपछि अलमलमा परेका छौँ ।”