logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

घारिबथानमा गाडी बन्द, डाइभर्सनमा ह्युमपाईप राखिदिन माग


  • उज्यालो अभियान

घारिबथान, २३ भदौ – सर्लाहीको ईश्वरपुर नगरपालिका-१२, घारिबथानमा आज दिनभर यातायात ठप्प पारिएको छ ।

घारिबथानस्थित टेम्पु चोकबाट आँपबोटेतर्फ आउने मुख्य सडकको खोल्सीमा कलभर्ट निर्माण गर्न बनाइएको डाइभर्सनमा ह्युमपाईप राखिदिन बारम्बार आग्रह गर्दा पनि बेवास्ता गरिएको भन्दै यातायात व्यवसायीले आज दिनभर गाडी नचलाएका हुन् । घारिबथानबाट लालबन्दी बजारसम्म आउजाउ गर्ने म्याजिक तथा अटो दिनभर बन्द गरिएको म्याजिक संचालक अर्जुन खड्काले बताए ।

केही दिनदेखि दिनहु पानी परेर डाइभर्सन असाध्य खराब भएको र गाडी पास गराउनै नसक्ने अवस्था भएपछि बाध्य भएर गाडी नचलाउने निर्णय गरिएको म्याजिक संचालक एवं जीपटेम्पु व्यवसायी संघका सल्लाहकार छेसल लामाले बताए ।

डाइभर्सनमा दुईवटा ह्युमपाईप हालिदिए खोल्सीबाट सजिलै गाडी पास हुने अवस्था रहे पनि ह्युमपाईप हाल्न नै बेवास्ता गरिएको लामाले गुनासो गरेका छन् ।

डाइभर्सनबाट गाडी पास हुन नसक्दा घुमाउरो बाटो भएर हिँड्नुपर्ने बाध्यता आएको अटो चालक दिनेशबहादुर गुर्मछानले जानकारी दिए । खोल्सीमा ह्युमपाईप हालिदिन जनप्रतिनिधि र ठेकेदारलाई बारम्बार भन्दा पनि सुनुवाइ नभएपछि सबै गाडीका चालक एकजुट भएर गाडी नै नचलाउने निर्णय गरिएको उनले बताए ।

गाउँबाट लालबन्दी बजारसम्म चल्ने म्याजिक र अटो दिनभर संचालन नहुँदा घारिबथानका स्थानीय प्रभावित भएका छन् । चालकहरुले म्याजिक र अटो घारिबथानस्थित टेम्पु चोकमा जम्मा पारेर सांकेतिक रुपमा प्रदर्शनसमेत गरेका छन् ।

ईश्वरपुर नगरपालिका-१२ का वडाध्यक्ष देविबहादुर खत्री (शिव) ले भोली नै नगरपालिकाबाट ह्युमपाईप ल्याएर हाल्ने बताएका छन् । उनका अनुसार गोपी चोक नजिकको खोल्सीमा यसअघि नै फराकिलो कलभर्ट हालिसकेको र अब टेम्पुचोकबाट आँपबोटेतर्फ आउने बाटोमा पनि कलभर्ट निर्माणका लागि धमाधम काम भइरहँदा छेउबाट डाइभर्सन निर्माण गर्नुपरेको हो ।

खोल्सीमा बाढी नआउँदा डाइभर्सनबाट सजिलै गाडी कटे पनि निरन्तर पानी परिरहँदा समस्या परेको वडाध्यक्ष खत्रीले बताए । यसअघि नै कालोपत्रे भएको सडक योजना अन्तर्गत नगरको बजेटबाट कलभर्ट निर्माण गर्न लागिएको वडाध्यक्ष खत्रीको भनाइ छ ।