logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

पर्सा गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी र शिक्षकद्वारा बाढी पीडितलाई सहयोग


  • उज्यालो अभियान

पर्सा, १७ भदौ – सर्लाहीको दक्षिणी भेगस्थित सीमा क्षेत्रमा पर्ने पर्सा गाउँपालिकाका जनप्रतिनिधिले एक महिनाको सेवासुविधा बापत प्राप्त हुने रकम बाढी पीडितका लागि प्रदान गर्ने भएका छन् ।

रसुवास्थित भोटेकोशी बाढी प्रभावित व्यक्तिहरुको उद्धार, राहत र पुनस्र्थापनाका लागि गाउँपालिकाका सम्पूर्ण जनप्रतिनिधिको तर्फबाट एक महिनाको सेवासुविधा बापतको चार लाख ९८ हजार ७०० रुपियाँ बाढी पीडितलाई प्रदान गर्ने निर्णय गरिएको हो । यस्तै गाउँपालिकाभित्र कार्यरत कर्मचारीले पनि आफ्नो तलबबाट बाढी पीडितका लागि छ लाख १२ हजार ३७५ रुपियाँ प्रदान गर्ने भएका छन् । अधिकृतस्तरका कर्मचारीको सात दिनको, सहायक स्तरको कर्मचारीको पाँच दिनको र श्रेणीविहीन कर्मचारीको दुई दिनको तलब बाढी पीडितलाई प्रदान गरिने छ ।

यस्तै, सामुदायिक विद्यालयमा कार्यरत मावि शिक्षकको सात दिनको, आधारभूत शिक्षकको पाँच दिनको र सहयोगी कर्मचारीको दुई दिनको तलब बापतको तीन लाख ९५ हजार ३८ रुपियाँ बाढी पीडितलाई प्रदान गरिने भएको छ ।

गाउँपालिका अध्यक्ष धीरेन्द्र राय बिस्पत, प्रमुख प्रशासकीय अधिकृत मदनबहादुर थिङ्ग र लेखापाल कौशल रायले संयुक्त रुपमा हस्ताक्षर गरी प्रेस विज्ञप्ती जारी गर्दै जनप्रतिनिधि, कर्मचारी तथा शिक्षकको तर्फबाट बाढी पीडितलाई यस प्रकारको सहयोग गरिएको जानकारी गराएका हुन् ।

उक्त रकम ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा जम्मा गरिने पर्सा गाउँपालिकाले जनाएको छ । गाउँपालिकाबाट दुई लाख रुपियाँ बराबरको राहत सामग्रीसमेत भोटेकोशी बाढी पीडितलाई प्रदान गर्ने निर्णय गरिएको छ ।