मलंगवा, १६ भदौ – मलंगवास्थित जिल्ला प्रशासन कार्यालय सर्लाहीमा प्रतिलिपी नागरिकता लिन सेवाग्राहीको असाध्य भीड बढेपछि टोकन प्रणाली लागु गरिएको छ ।
कार्यालयले दैनिक १०० नयाँ नागरिकता र १०० प्रतिलिपी नागरिकता गरी जम्मा २०० वटा टोकन दिने गरेको भए पनि अब त्यतिले पनि धान्ने अवस्था नरहेको सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेले बताए । भदौ १८ गतेसम्मका लागि मंगलबार नै सबै टोकन वितरण भइसकेको कार्यालयले सूचना निकालेर जानकारी गराएको छ ।
बिरामी, वैदेशिक रोजगार, अध्ययन वा अन्य कुनै आकस्मिक कारणले तुरुन्तै प्रतिलिपी नागरिकता आवश्यक पर्ने सेवाग्राहीले भने सोही दिन सेवा पाउने छन् । अन्य सेवाग्राहीलाई पहिले टोकन लिन र त्यसपछि मात्र सेवा लिन आउन कार्यालयले आग्रह गरेको छ ।
जिल्ला प्रशासन कार्यालय सर्लाहीले आज मात्र नयाँ नागरिकता १२३, राष्ट्रिय परिचय पत्र ४५६ र प्रतिलिपी नागरिकता १५० भन्दा बढी जारी गरेको छ । अत्यधिक भीडभाडका कारण नागरिकता लिन पहिला टोकन लिनुपर्ने र टोकनमा तोकिएको दिन जाँदा घण्टौँ लाइनमा बस्न बाध्य हुँदा सेवाग्राही मारमा परेका छन् ।