लालबन्दी, १० भदौ – सर्लाहीको लालबन्दी नगरपालिका–५ मेजरगन्जमा एक महिनादेखि बेपत्ता किशोरीको अवस्था थाहा हुन नसक्दा परिवार चिन्तित भएका छन् ।
मामाघरमा बस्ने मेनु सिंहकी छोरी १९ वर्षीया मुस्कान सिंह गत साउन १२ गतेदेखि बेपत्ता भएकी हुन् । मुस्कान हराएदेखि नै परिवारले उनको खोजी गरिरहे पनि अवस्था थाहा हुन नसकेको हो ।
भारतमा मजदुरी गर्ने मुस्कानकी आमा मेनु सिंह छोरी मुस्कान हराएको खबर पाएदेखि माइती फर्किएर निरन्तर छोरीको खोजी गरिरहेकी छन् । छोरी हराएपछि खोजीका लागि इलाका प्रहरी कार्यालय लालबन्दी, सामाजिक सन्जालमा पोस्ट गर्ने र स्थानीय संचारमाध्यममा धाउँदा पनि छोरीको अवस्था थाहा पाउन नपाएको मेनुको गुनासो छ ।
आमा मेनु र हजुरआमा मन्दिरा बोहोरा दिनहुँ मुस्कानको खोजीमा लागिरहेकी छन् । नेपाली राम्रोसँग बोल्न नजान्ने र हिन्दी बोल्ने मुस्कान तरकारी लिन भनी लालबन्दी बजार गएदेखि बेपत्ता भएकी हुन् ।
हजुरआमा मन्दिरा बोहोराले सोझो स्वभावकी नातिनी मुस्कान यहाँ छिन भनेर थाहा पाउन पाए पनि हुन्थ्यो भन्ने आशमा बसिरहेको बताइन् ।
नियमित तरकारी लिएर बजारबाट आउने नातिनी साउन १२ गते भने एकाएक बेपत्ता भएको हजुरआमा मन्दिराले बताईन् ।
इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक श्याम थापामगरले बेपत्ता किशोरीको खोजी गरिरहेको उज्यालो अभियानसँग बताए ।