लालबन्दी, ०९ भदौ – पुस्तौँदेखिको प्रतिक्षापश्चात सर्लाहीको लालबन्दी नगरपालिका–११, हिरापुर र लालबन्दी नगरपालिका–१२, जियाजोरलाई जोड्ने लखन्देहीखोलामा पुल बनेर सञ्चालनमा आएपछि स्थानीय खुसी भएका छन् ।
बर्खामा बाढी आउँदा आउजाउ नै ठप्प हुने ठाउँमा पक्की पुल निर्माण भइ सञ्चालनमा आएसँगै स्थानीयलाई असाध्य सहज भएको छ । लालबन्दी नगरपालिका–१२, जियाजोरका अर्जुन विश्वकर्माले पुलबाट ओहोरदोहोर गर्न पाउँदा सपना जस्तै लागेको बताए ।
लखन्देहीमा पुल बनेसँगै गाउँको कृषि उपजले सहजै बजार पाउने अवस्था बनेको विश्वकर्माले बताए । उनले भने, “किसानले फलाएको तरकारी अब बाढी आएर बजार लान नपाउँदा बारीमै कुहिएर जाने अवस्था रहेन ।”

पुल नहुँदा खोला तरेर आउजाउ गर्नेक्रममा बर्सेनि मानिसलाई बगाउने समस्या अब समाधान भएको विश्वकर्माले बताए । लखन्देहीमा पुल बन्नु जियाजोरवासीका लागि असाध्य खुसीको क्षण रहेको उनको भनाइ छ ।
खोलामा पुल नहुँदा जियाजोर क्षेत्रका स्थानीयलाई पालिकाको केन्द्र लालबन्दी बजारसम्म आउन असाध्य असहज थियो ।
पुल बनेसँगै लालबन्दी नगरपालिका–१२, जियाजोर, भालुखोप, जलकिनी तथा छिमेकी पालिका हरिवन नगरपालिका–२, को लालभित्ती, खोरगाउँ र अत्रौलीक्षेत्रका स्थानीयलाई समेत लालबन्दी बजार आउन असाध्य सहज भएको छ ।
यस्तै हरिवन नगरपालिका–१, को चुरेभेग र सिन्धुलीको केमलचुलीक्षेत्रका वासिन्दाले पनि यही पुल भएर आउजाउ गर्न पाएका छन् । बाहुनीखोलामा बाढी आउँदा लालबन्दी नगरपालिका–१३, पत्थरकोट र लालबन्दी नगरपालिका–१४, नारायणखोलाक्षेत्रका स्थानीयलाई समेत लखन्देहीखोलामा पुल बनेसँगै राहत मिलेको छ ।
हरिवन नगरपालिका–२, अत्रौलीका भेषराज काफ्लेले आफूहरुको क्षेत्रका स्थानीय तरकारी बेच्न तथा बजार गर्न लालबन्दीतर्फ आउने भएकाले खोलामा पुल बनेसँगै सजिलो भएको बताए । उनले भने–“हाम्रो गाउँतिरका अधिकांश हरिवनबजार भन्दा पनि लालबन्दीतर्फ नै जाने हो, पुल नहुँदा आउजाउमा समस्या थियो तर अब त पुल बनेसँगै सजिलो भयो ।”
जियाजोर हुँदै लालबन्दीबजारतर्फ आउजाउ गर्नेक्रममा लखन्देहीखोलाको पुल देख्दा मन प्रफूलित हुने गरेको काफ्लेको भनाइ छ ।
लखन्देहीखोलामा पुल नहुँदा बाढी आएको समयमा जियाजोर, अत्रौलीक्षेत्रका स्थानीय लालबन्दी बजार आउनुपर्दा हरिवन तर्फबाट घुमेर आउन बाध्य थिए ।

लालबन्दी नगरपालिका–१२ का वडाध्यक्ष दुर्गाबहादुर आलेले लखन्देहीखोलामा पुल बनेसँगै जियाजोर क्षेत्रको मुहार फेरिएको बताए । वडाध्यक्ष आलेले भने, “जियाजोरका लागि यो भन्दा ठुलो खुसी अर्को हुँदैन् ।”
खोलामा पुल बनेसँगै जियाजोर, अत्रौलीक्षेत्रका वासिन्दा अब बाह्रैमास सजिलैसँग लालबन्दी बजारसम्म ओहोरदोहार गर्न मिल्ने भएको वडाध्यक्ष आलेले बताए । विद्यार्थी, शिक्षक, कर्मचारीलाई लगायतलाई पनि पुल बनेसँगै सहज भएको छ ।
लालबन्दी नगरपालिकाका प्रमुख वासुदेव अधिकारीले लखन्देहीमा पुल बनेसँगै चुरेको फेदी नै फेदी बागमतीसम्म सजिलै पुग्न सक्ने अवस्था बनेको बताए । लखन्देहीको नवनिर्मित पुलले लालबन्दी र हरिवन नगरपालिकाको चुरेक्षेत्रका वासिन्दाका लागि ठुलो महत्व राख्ने मेयर अधिकारीको भनाइ छ ।
लखन्देहीखोलामा २०८० माघ ७ गते तत्कालिन उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले पुलको शिलान्यास गरेका थिए । एमआर एण्ड ग्रुप–वाइपी ज्वाइन्ट भेन्चरले आठवटा स्ल्याप (स्पान) भएको ४८५ मिटर अर्थात् आधा किलोमिटर लामो पुल निर्माण गरेको हो ।
निर्माण कम्पनिका आधिकारिक व्यक्ति एवं इन्जिनियर सागर भट्टराईले पुलको काम सकेर सडक विभाग (पुल सेक्टर) काठमाडौँलाई हस्तान्तरणका लागि प्रक्रिया अघि बढिसकेको जानकारी दिए । उनले भने, “पुलसँगै पुलको दुवैतर्फको एपरोच रोड र तटबन्धसमेत बनाइसकेर ह्यान्डओभर गर्ने प्रोसेस अघि बढाइसकेका छौँ ।”

४८५ मिटर लम्बाई रहेको लखन्देहीखोलाको नवनिर्मित पुलमा ११ मिटर चौडाई रहेको छ । ११ मिटरमध्ये साढे सात मिटरमा गाडी गुड्ने र बाँकी भागमा फुटपाथ रहेको इन्जिनियर भट्टराईले बताए ।
पुलसँगै निर्माण कम्पनिले पुलको वरपर एक हजार १०० मिटर तटबन्ध निर्माण र पुलको दुवैतर्फ ५२० मिटरजति एपरोच रोड कालोपत्रे गरिसकेको छ । ७७ करोड ७८ लाख २३ हजार ९०० रुपियाँमा पुल निर्माण कार्य सम्पन्न गरिएको हो ।
२०८३ साउन मसान्तसम्म पुल निर्माण सक्नुपर्ने सम्झौता अनुसार नै काम पुरा गरिएको छ । पाँच वर्षसम्म पुलमा कुनै समस्या आए निर्माण कम्पनिले नै मर्मत गर्ने सम्झौता रहेको निर्माण कम्पनिका इन्जिनियर भट्टराईले बताए ।
उनले, “हामीले हस्तान्तरण गरेपछि पनि पाँच वर्षसम्म कुनै समस्या आयो भने मर्मत गरिदिन्छौँ ।”