logo
  • बुधबार, भदौ १०, २०८३ / Wednesday, Aug, 26 ,2026

विद्यार्थीमाझ मुटु सुरक्षित राख्नेबारे सचेतना


  • उज्यालो अभियान

जुटपानी, ०९ भदौ – नेपाल हृदयरोग निवारण प्रतिष्ठान सर्लाही शाखा लालबन्दीले आज विद्यार्थीमाझ मुटु सुरक्षित राख्नेबारे सचेतना कार्यक्रम गरेको छ ।

लालबन्दी नगरपालिका २ जुटपानीमा रहेको जनजीवन विद्याश्रम माध्यमिक विद्यालयमा मुटु बचाऊँ भन्दै सचेतनामूलक कार्यक्रम गरिएको नेपाल हृदयरोग निवारण प्रतिष्ठान सर्लाही शाखाका उपसभापति बिक्रम भण्डारीले जानकारी दिए । कार्यक्रमका संयोजक एवं प्रतिष्ठानका कोषाध्यक्ष भिमबहादुर जर्गा मगरको अध्यक्षतामा कार्यक्रम सम्पन्न गरिएको हो ।

मुटुलाई सुरक्षित राख्न प्रेरित गर्ने उद्देश्यसहित सचेतनामूलक कार्यक्रम गर्ने क्रममा आज जुटपानी माविमा कार्यक्रम गरिएको उपसभापति भण्डारीले बताए । विद्यालयका शिक्षक काशिनाथ काफ्लेको स्वागत तथा विद्यालयका निमित्त प्रधानाध्यापक उत्तमकुमार दाहालको आतिथ्यता रहेको कार्यक्रममा प्रतिष्ठानका सभापति शिवप्रसाद न्यौपानेले संस्थाको परिचय र हालसम्म गरिएका गतिविधिबारे जानकारी गराएका थिए ।

कार्यक्रममा प्रतिष्ठानका कार्य समिति सदस्य एवं योगगुरु माधवप्रसाद खरेलले मुटु सुरक्षित राख्न गरिने योग अभ्यास गराएका थिए भने अर्का कार्य समिति सदस्य लक्ष्मीनारायण चौधरीले मुटुरोगबाट बच्न अपनाउनुपर्ने खानपान र कसरतबारे चर्चा गरेका थिए ।

कार्यक्रममा सहभागी छात्रा योगिता राउतले पहिलो पटक महत्वपूर्ण कार्यक्रममा सरिक हुन पाएको भन्दै खुसी व्यक्त गरिन् ।

आयोजक संस्थाले कार्यक्रममा विद्यालयलाई मुटु बचाऊँ सम्वन्धि सामग्रीसमेत प्रदान गरिएको छ ।