लालबन्दी, ०६ भदौ – छिमेकी जिल्ला बाराको सिमरामा भएको बालिका हत्याको विषयलाई लिएर आज बिहान लालबन्दीमा प्रदर्शन गरिएको छ ।
बलात्कारपछि हत्या गरिएको ३ वर्षीया बालिका गरिमा चौधरीको न्यायका लागि भन्दै महेन्द्र राजमार्गस्थित लालबन्दी बजार बजारमा प्रदर्शन गरिएको हो । प्रदर्शनमा सहभागीले गरिमालाई न्याय दे, हामी न्याय चाहान्छौँ, बलात्कार बन्द गर, आमो चित्कार सुनिदेऊ, छोरी चेलीलाई बाच्न देउ, अपराधीलाई सजाय देऊ, हत्यारालाई कारवाही गर, बालिकाको सुरक्षा सुुनिश्चित गरलगायतको नारा लेखिएको प्ले कार्ड बोकेका थिए ।
सहभागीले यस्ता अपराधका घटनामा संलग्नलाई मृत्युदण्डसम्मको सजाय हुनुपर्ने नारा लगाएका सहभागी सरिता कटुवालले जानकारी दिईन् ।
विद्यार्थी, महिला, जनप्रतिनिधि, राजनीतिज्ञ, सामाजिक संघसंस्थाका पदाधिकारी, अधिकारकर्मी, नागरिक अगुवालगायतको उपस्थितिमा लालबन्दीस्थित जनवादी चोकदेखि डुमडुमे मन्दिरसम्म दबाबमूलक र्याली निकालेर कोण सभा गरिएको थियो । सभालाई सम्वोधन गर्दै मधेश प्रदेशसभा सदस्य बेची लुंगेलीले यस्ता किसिमका जघन्य अपराध हुन नदिन घरपरिवार, समाज र विद्यालयस्तरमा सचेतना जगाउने किसिमका कार्यक्रम गर्न आवश्यक रहेकोमा जोड दिईन् ।
गरिमा चौधरीको हत्याका विषयलाई लिएर आज बिहान महेन्द्र राजमार्गस्थित हरिवन बजारमा पनि प्रदर्शन भएको छ । हरिवनमा गएसाँझ पनि महिला सञ्जालको अगुवाईमा पूर्वपश्चिम राजमार्गमा प्रदर्शन गरिएको थियो ।
गरिमाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शुक्रबार साँझ सर्लाही सदरमुकाम मलंगवामा दीप प्रज्वलन गरिएको थियो ।