(तस्बीर : टंकबहादुर क्षेत्री/उज्यालो अभियान)
हरिवन, ०२ भदौ – सर्लाहीको हरिवनमा ब्लड क्यान्सर पीडित ४ वर्षीया बालिका सुदीक्षा मगरको उपचारका लागि गाउँलेहरुले २ लाख २८ हजार भन्दा बढी सहयोग संकलन गरेका छन् ।
ब्लड क्यान्सर जस्तो प्राणघातक रोग लागि काठमाडौँको कान्ति बाल अस्पतालमा उपचार भइरहेको हरिवन नगरपालिका–८, डाँडाटोल निवासी सुदीक्षाको उपचारका लागि आज बिहानसम्म २ लाख २८ हजार ३१५ रुपैयाँ उठेको अभियन्ता चूडामणि वाग्लेले बताए । नगद उठेको रकम खातामा जम्मा गरिदिएको र कतिपय दाताले सिधै परिवारको खातामा क्यूआर गरिदिएर हालसम्म सो रकम संकलन भएको हो ।
सहयोग संकलन अभियानलाई अझै जारी नै राखिने अभियन्ताहरुले बताएका छन् । सुदीक्षाको उपचारका लागि हरिवन निवासी सुनिल थपलियाको पहलमा हरिवन घर भई हाल अमेरिका निवासी सागर थापा, युवराज कार्की र धीरज कार्कीले एभरेष्ट रिलिफ (अमेरिका–नेपाल) फाउन्डेसनमार्फत ५१ हजार रुपैयाँ सहयोग गरेका छन् ।
पूर्व शिक्षक मोहन कार्कीको नेतृत्वमा सुदीक्षाको उपचारका लागि घरघरमै गएर सहयोग संकलन अभियान संचालन गरिएको हो ।
हरिवन ८ का वडाध्यक्ष प्रज्वल ढुंगानाले सुदीक्षाको उपचारका लागि वडा र नगरपालिकाबाट पनि यथाशक्य सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
वडाध्यक्ष ढुंगाना आफै पनि सुदीक्षाको लागि पैसा उठाउन घरदैलोमा हिँडेका छन् ।