logo
  • शनिबार, साउन ३०, २०८३ / Saturday, Aug, 15 ,2026

सर्लाही कांग्रेसका शीर्ष नेता गएनन् देउवा समूहको भेलामा


  • उज्यालो अभियान

मलंगवा, २९ साउन – फुटको संघारमा रहेको नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले आजदेखि काठमाडौँमा सुरु गरेको राष्ट्रिय भेलामा सर्लाहीबाट शीर्षस्थ नेताहरुको उपस्थिति रहेको छैन् ।

यसअघि देउवा समूहमै रहेका जिल्लाका प्रमुख नेताहरु भेलामा सहभागी छैनन् । सर्लाहीबाट उक्त भेलामा सहभागी हुन पुगेकामध्ये महाधिवेशन प्रतिनिधि सुरेन्द्रप्रसाद न्यौपानेले यहाँबाट ५०/६० जना सहभागी भएको दावी गरेका छन् ।

भेलामा पुराना नेताहरु नभए पनि युवाहरुको उल्लेख्य उपस्थिति रहेको न्यौपानेले उज्यालो अभियानसँग बताए । सर्लाहीमा यसअघि शेरबहादुर देउवा समूहमा रहेका कार्यवाहक जिल्ला सभापति डा. सरोज कुमार, पूर्व जिल्ला सभापति सुरेन्द्रप्रसाद सिंह, मधेश प्रदेश उपसभापति वीरेन्द्रप्रसाद सिंह फागुन २१ को निर्वाचनअघि देखि नै पार्टी सभापति गगनकुमार थापाको समूहमा सक्रिय छन् ।

काठमाठौँमा जारी देउवा समूहको राष्ट्रिय भेलामा नेता डा. शेखर कोइरालासमेत सहभागी भए पनि सर्लाहीमा रहेका उनी निकटका नेताहरु पूर्व जिल्ला सभापति लक्ष्मण राय, संविधान सभा सदस्य रामचन्द्र चौधरीलगायतका नेताहरु पनि भेलामा गएका छ्रैनन् । उनीहरु जिल्लामै छन् ।

संविधान सभा सदस्य शम्भुलाल श्रेष्ठ त थापा समूहबाट केन्द्रीय सदस्य नै बनिसकेका छन् । हरिबहादुर लुंगेली, कौशलकिशोर राय, निरज कार्कीलगायत कांग्रेस सर्लाहीका अगुवा नेताहरु पनि राष्ट्रिय भेलामा सहभागी हुन गएका छैनन् ।

इतर समूहको भेलामा सहभागी नभएको हिसाबले सर्लाहीमा नेपाली कांग्रेसका अधिकांश पुराना तथा हाल नेतृत्वतहका नेताहरु पार्टी सभापति गगनकुमार थापाको पक्षमा रहेको देखाउँछ । नेपाली कांग्रेस सर्लाहीका कार्यवाहक सभापति डा. सरोज कुमारले काठमाडौँमा भइरहेको राष्ट्रिय भेलाबारे वास्ता नरहेको प्रतिक्रिया दिएका छन् ।

काठमाडौँमै रहेका कार्यवाहक जिल्ला सभापति डा. सरोजले उज्यालो अभियानसँग टेलिफोनमा कुरा गर्दै पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्य समितिको बैठक जारी रहेकाले आफू सोही बैठकमा सहभागी हुने र आगामी दिनमा पार्टीलाई कसरी अघि बढाउने भन्ने विषयमा केन्द्रीय नेताहरु छलफलमा सहभागी भइरहेको बताएका छन् ।

काठमाडौँमा देउवा समूहको राष्ट्रिय भेला चलिरहँदा सर्लाहीमा रहेका नेपाली कांग्रेसका नेता, कार्यकर्ता भने पार्टीको भविष्य, नेतृत्व र आगामी स्थानीय तह निर्वाचनबारे विभिन्न अडकलबाजीसहितको छलफलमा जुटेका छन् ।