मलंगवा, २७ साउन – पछिल्लो समय सर्लाहीमा गम्भीर प्रकृतिका लैङ्गिक तथा घरेलु हिंसाका घटना बढ्दै गएको महिला पुनर्स्थापना केन्द्र (ओरेक) ले बताएको छ ।
ओरेक सर्लाहीले जिल्लास्तरीय त्रैमासिक प्रेस विज्ञप्ती जारी गरी जिल्लामा महिलामाथि हुने हिंसाका घटनाहरु बढ्दै गएको जनाएको हो । अङ्ग्रेजी महिना अप्रिलदेखि जुन २०२६ सम्म (तीन महिना) को अवधिमा सङ्कलित तथ्याङ्क अनुसार सर्लाहीमा ४४१ वटा लैङ्गिक हिंसासम्वन्धी घटनाहरु दर्ता भएका छन् ।
तीमध्ये ओरेक सर्लाहीको कार्यालयमा ६५ वटा घटना दर्ता भएका छन् भने तीनवटा घटना समाचारमाध्यमबाट प्राप्त गरी ६८ वटा हिंसाका घटनाहरु अभिलेखीकरण भएका छन् । यस्तै, जिल्ला प्रहरी कार्यालयको मुद्दा शाखामा ५७ वटा र कार्यालयकै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रमा घरेलु हिंसासम्वन्धी ३१६ वटा ठाडो उजुरी दर्ता भएका छन् ।
विशेष गरी अत्यधिक मदिरा सेवन, दाइजो, बहुविवाहजस्ता कुप्रथाका कारण महिलामाथि हुने हिंसा अझ गम्भीर बन्दै गएको पाइएको ओरेक सर्लाहीकी कार्यक्रम अधिकृत गुन्जा कुमारीले प्रेस विज्ञप्तीमा उल्लेख गरेकी छन् ।
ओरेक र जिल्ला प्रहरी कार्यालयबाट सङ्कलन भएको ४४१ वटा घटनामध्ये ५४ वटा घरेलु हिंसा, १७ वटा जवरजस्तीकरणी, चारवटा सामाजिक हिंसा, तीनवा बालविवाह, दुईवटा अपहरण तथा शरीर बन्धक, पाँच विद्युतीय अपराध, ७० वटा घरेलु हिंसाका ठाडो उजुरी र २४६ वटा कुटपिटको ठाडो उजुरीलगायत रहेका छन् ।