logo
  • शुक्रबार, साउन २९, २०८३ / Friday, Aug, 14 ,2026

लालबन्दी नगर अस्पतालमा मुटुरोग सम्वन्धी विशेषज्ञ सेवा शुभारम्भ


  • उज्यालो अभियान

नगर अस्पताल लालबन्दी । (तस्बीर : उज्यालो अभियान)

लालबन्दी, २३ साउन – नगर अस्पताल लालबन्दीमा शनिबारदेखि मुटुरोग सम्वन्धी विशेषज्ञ सेवा शुभारम्भ गरिएको छ ।

लालबन्दी नगरपालिका, नगर अस्पताल र नेपाल हृदय रोग प्रतिष्ठान सर्लाही शाखाको समन्वयमा मुटुरोग सम्वन्धी विशेषज्ञ सेवा सुरु गरिएको हो । अस्पतालमा अब प्रत्येक महिनाको चौँथो शनिबार मुटुरोग विशेषज्ञ (कार्डियोलोजिस्ट) डा. सुवास सुवेदीले मुटुरोगका बिरामीलाई सेवा प्रदान गर्नुहुने नगर अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. चन्दन चौधरीले जानकारी दिए ।

भरतपुर सरकारी अस्पतालमा कार्यरत मुटुरोग विशेषज्ञ डा. सुवेदी लालबन्दी नगरपालिका–७, डाँडाटोलका स्थानीय वासिन्दासमेत हुन् । यस क्षेत्रका मुटुरोगीहरु उपचारका लागि टाढा धाउनुपर्ने बाध्यतालाई मध्यनजर गर्दै डा. सुवेदीसँग सम्झौता गरी उनलाई महिनाको एक दिन मात्र भए पनि नियमित बोलाएर स्वास्थ्य परीक्षण तथा उपचारको व्यवस्था मिलाइएको लालबन्दी नगरपालिकाका प्रमुख वासुदेव अधिकारीले बताए ।

उच्च रक्तचाप, हर्ट अट्याक, मुटुको धडकन गडबडी भएका बिरामीले डा. सुवेदीसँग स्वास्थ्य परीक्षण गराउन सक्ने व्यवस्था मिलाइएको नगर अस्पतालले जनाएको छ । मुटुरोग विशेषज्ञ डा. सुवेदीसँग सेवा लिँदा बिरामीले ओपिडी शुल्कबापत एक सय रुपियाँ तिनुपर्ने र कुनै प्रकारको परीक्षण गर्नुपर्दा नगर अस्पतालले लिँदै आएको शुल्क अनुसार हुने मेसु डा. चौधरीले बताएका छन् ।

डा. सुवेदी महिनाको एक मदिन यहाँ आएर सेवा प्रदान गर्दा यस क्षेत्रका मुटु रोगीलाई परामर्श तथा उपचारका लागि बारम्बार अन्यत्र धाइरहनुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ ।

नेपाल हृदय रोग प्रतिष्ठानका केन्द्रीय सदस्य बाबुकाजी नुच्छे प्रधानले लामो समयदेखिको प्रयासपश्चात मुटुरोग विशेषज्ञ महिनामा एक दिन मात्र भए पनि नगर अस्पतालमा बस्ने व्यवस्था मिलाउन सफल भएको बताएका छन् ।

शनिबार बिहान लालबन्दी नगरपालिकाका नगरप्रमुख वासुदेव अधिकारीको मुटु परीक्षण गरी विशेषज्ञ सेवाको सुरुवात गरिएको छ । शनिबार पहिलो दिन नै ५० जना भन्दा बढी बिरामी डा. सुवेदीबाट सेवा लिन आउनुभएको नगर अस्पताल लालबन्दीले जनाएको छ ।

बिरामीको चाप अत्यधिक हुने अवस्था देखिएकाले आगामी महिनादेखि पहिले नै बिरामीको नाम दर्ता गराउने र निश्चित संख्या तोकेर उपचारको व्यवस्था मिलाउने तयारी रहेको अस्पतालका मेसु डा. चौधरीले बताए ।