logo
  • मङ्लबार, कार्तिक ११, २०८३ / Tuesday, Oct, 27 ,2026

हरिवनमा सद्भाव र्याली निकालियो


  • उज्यालो अभियान

हरिवन, १६ साउन – महेन्द्र राजमार्गस्थित हरिवनमा आज बिहान सद्भाव र्याली निकालिएको छ ।

पूर्वका सुनसरी, सिरहालगायत जिल्लामा उत्पन्न तनावलाई मध्यनजर गर्दै सामाजिक सद्भाव कायम गर्ने उद्देश्यसहित हरिवनमा सद्भाव र्याली निकालिएको हो । सद्भाव र्‍यालीमा हिन्दु, मुस्लिम, वौद्धलगायत धर्मका धर्मगुरु, अगुवासहित स्थानीय जनप्रतिनिधि, राजनीतिज्ञ, सुरक्षा अधिकारी, उद्योगी, व्यवसायी, महिला अगुवा र स्थानीय वासिन्दा सहभागी भएका छन् ।

हरिवनमा महेन्द्र राजमार्गको पश्चिम लच्कादेखि पूर्वी लच्कासम्म सद्भाव र्याली निकालेर हरिवन चोकस्थित सगुन सहकारी अगाडि कोण सभा गरिएको छ ।

सभामा सर्लाही ३ का प्रतिनिधि सभा सदस्य नरेन्द्रप्रसाद साह कलवार, पूर्व मन्त्री हरिप्रसाद उप्रेती, नगरप्रमुख रमेश बुढाथोकीलगायतले मन्तव्य व्यक्त गर्दै एकले अर्को धर्मलाई सम्मान गर्दै निरन्तर रुपमा सामाजिक सद्भाव कायम राख्न आग्रह गरेका छन् । नगर प्रमुख बुढाथाेकीकाे अध्यक्षता एवं सांसद साहकाे प्रमुख आतिथ्यता रहेकाे कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदी, नेपाली सेना पाँचकुमारी गणका गणपति प्रमुख सेनानी उमेश खड्का, प्रहरी उपरीक्षक रवीन्द्रनाथ पौडेल, सशस्त्र प्रहरी उपरीक्षक अमरबहादुर खत्री लगायतको उपस्थिती रहेकाे थिए ।

हरिवनमा हिजो सर्वपक्षिय छलफल गरी सामाजिक सद्भाव कायम गर्ने निर्णय गर्दै आज सद्भाव र्याली निकालिएको हो ।

सहभागीले सबै जातजाति र धर्मका मानिसको बसोवास रहेको हरिवनलाई सँधै यसैगरी शान्त बनाइराख्ने प्रतिवद्धतासमेत व्यक्त गरेका छन् ।