बरहथवा, १५ साउन – बरहथवा बजारमा आज बिहान बजार बन्द गराउने भनी आइपुगेका ५ युवकलाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीमा बुझाएका छन् ।
बरहथवा र बाहिरी पालिकाबाट भारतीय मोटरसाइकल चढेर प्रदर्शन गर्न भन्दै बरहथवा बजारमा निस्किएका ५ जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बरहथवाका डिएसपी गोपिकृष्ण सुवेदीले उज्यालो अभियानसँग बताए । उनीहरु बरहथवा प्रहरीको हिरासतमा रहेका छन् ।
आज बिहान सामान्य तनाव देखिए पनि बरहथवा बजारको अवस्था अहिले नर्मल छ । आज बिहान मात्र जनप्रतिनिधि, राजनीतिज्ञ, उद्योगी, व्यवसायी, सुरक्षा अधिकारी, स्थानीय अगुवा, धार्मिक नेतृत्वकर्तालगायतसँग सर्वपक्षिय बैठक गरिएको थियो ।
बैठकले सामाजिक सद्भाव कायम गर्दै अघि बढ्ने निर्णय गरेको बरहथवाकी नगरप्रमुख कल्पनाकुमारी कटुवालले उज्यालो अभियानसँग बताइन् ।
बिहान असहज बनेको सदरमुकाम मलंगवाको अवस्था पनि अहिले सामान्य हुँदै गएको छ । तर बन्दको हल्लाले मलंगवा र बरहथवा बजार बन्द छन् ।
लालबन्दी, हरिवन, बयलवासलगायत ठाउँका बजार भने निर्वाध रुपमा खुलिरहेका छन् । लामो दुरीका गाडी नचल्दा यात्रुलाई सास्ती भए पनि स्थानीय रुटका गाडी दौडिरहेका छन् ।