logo
  • बिहिबार, साउन १४, २०८३ / Thursday, Jul, 30 ,2026

एसएलसी ब्याच २०६१ ले गर्यो विद्यालयमा अक्षयकोष स्थापना गर्ने घोषणा


  • उज्यालो अभियान

परवानीपुर, १४ साउन – २०६१ सालमा सर्लाहीको डिम जनता मावि परवानीपुरबाट एसएलसी दिएका विद्यार्थीहरुले आफू पढ्ने विद्यालयमा एक लाख रुपैयाँको अक्षयकोष स्थापना गरेर शैक्षिक क्षेत्रमा एक उदाहरणीय कार्य गरेका छन् ।

सवारी दुर्घटनामा परी यही साउन २ गते निधन भएकी सँगै पढ्ने साथी स्व.सविना दाहालको १३औं दिनको पूण्यतिथीको अवसर पारेर विद्यालयमै आयोजना गरिएको श्रद्धाञ्जली सभामा एसएलसी ब्याच २०६१ का फस्ट विद्यार्थी सोम बहादुर विश्वकर्मा (सोम दियाली) ले आफ्नो ब्याचको नामबाट बिद्यालयमा रु. एक लाखको अक्षयकोष स्थापना गर्ने घोषणा गरेका हुन् ।

उनले आफूहरुसँगै पढ्ने साथी भौतिक रुपमा नरहे पनि उनको नामलाई सधैं अमर राख्ने र कमजोर आर्थिक अवस्था भएका विद्यार्थीलाई अध्ययनमा प्रोत्साहन गर्ने उदेश्यले अक्षयकोषको स्थापना गरिएको बताए ।

उनले तत्कालका लागि अक्षयकोष रु. एक लाखको हुने र त्यसलाई क्रमशः बढाउँदै लगिने जानकारी दिँदै संगै पढ्ने साथीलाई गुमाउनु पर्दा आफ्नो टिम नै शोकाकुल भएको बताए । उनले अक्षयकोष स्थापनामा एक जुट भएर रकम जम्मा गर्ने ब्याचका सबै साथीहरुलाई धन्यवाद दिदैं उनीहरुप्रति सम्मान प्रकट गरे ।

त्यस्तै सोही ब्याचकी अर्की विद्यार्थी रेखा खड्काले स्व.समकक्षी साथी दाहालप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनकै सम्झनामा आफूहरुले स्थापना गरेको अक्षयकोषले शिक्षा क्षेत्रमा थोरै भएपनि टेवा पुग्ने अपेक्षा गरेको बताईन् ।

सभालाई सम्बोधन गर्दै विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष कृष्ण गौतमले संगै पढ्ने स्वर्गिय साथीको सम्मानमा एसएलसी ब्याच २०६१ले अत्यन्तै पवित्र काम गरेको बताए । उनले भने,एसएलसी ब्याच २०६१ का भाईबहिनीहरुले आफूहरुले जम्मा गरेको पैसा अन्यत्रै पनि खर्च गर्न सक्ने । धारा बनाउन सक्थे, इनार बनाउन सक्थे या चौतारो बनाउन सक्थे । तर विद्यालय जस्तो सामाजिक संस्थामा भावी सन्ततीले पनि सुविधा पाउने गरी अक्षयकोष नै बनाउनु अत्यन्तै राम्रो कार्य हो । उनले स्व.दाहालप्रति भावपूर्ण श्रद्धाञ्जली समेत अर्पण गरेका थिए ।

त्यस्तै स्व.दाहालको परिवारको तर्फबाट सम्बोधन गर्दै ईश्वर ढुंगेलले स्वर्गिय दाहाल सानै देखि सबैसँग मिल्ने, कसैको मन नदुखाउने स्वभावको रहेको जानकारी दिँदै उनको सम्मानमा २०६१ ब्याचले अक्षयकोष बनाएकोमा धन्यवाद ब्यक्त गरे ।

सभामा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजु बुढाथोकी, पूर्व अध्यक्ष कृष्ण गौतम, समाजसेवी प्रकाश थापा, प्रधानाध्यापक ध्रुब भण्डारी, शिक्षकहरु बलराम कार्की, पवन श्रेष्ठ, चेत प्रसाद तिमल्सिना, स्व.दाहालको परिवारको तर्फबाट ईश्वर ढुंगेल, अभिभावकहरुको तर्फबाट सरोज खड्कालगायतको उपस्थिति रहेको थियो ।

त्यस्तै एसएलसी ब्याच २०६१ को तर्फबाट सो ब्याचका प्रथम विद्यार्थी सोम बहादुर विश्वकर्मासहित रेखा खड्का, कुन्ता कुमारी गौतम, मेख बहादुर थापा-दिनेश), इन्द्र बहादुर कार्की-राजु)लगायतको उपस्थिति रहेको थियो ।

उनीहरुले स्व.दाहालको तस्बीरमा माल्यार्पण गर्दै उनीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका थिए ।