बयलवास, १२ साउन – ईश्वरपुर नगरपालिकामा भूमि व्यवस्थापन तथा नापी शाखा संचालनमा ल्याइएको छ ।
सोमबार मेयर मनोजकुमार आचार्य र उपमेयर रन्जितादेवी चौधरी भएर उक्त शाखाको उद्घाटन गरेका हुन् । उक्त शाखाले आजदेखि सेवा प्रवाह गर्न सुरु गर्दै छ ।
नगरवासीलाई जग्गासम्वन्धी सम्पूर्ण सेवा बयलवासस्थित नगरपालिका कार्यालयबाटै प्रदान गर्ने उद्देश्यसहित भूमि व्यवस्थापन तथा नापी शाखा स्थापना गरिएको मेयर आचार्यले बताए ।
जग्गा अनलाइनमा अपडेट भइसकेका सेवाग्राहीले अब नगरपालिका कार्यालयमै खुलेको उक्त शाखामा गएर जग्गा किनबेचसहितको सेवा लिन सक्ने छन् ।
भूमि प्रशासन कार्यालय हरिवनका प्रमुख उदयप्रसाद देवकोटाले ६० प्रतिसत बढी जग्गा अनलाइनमा अपडेट भइसकेकाले ईश्वरपुर नगरपालिकाभित्रका त्यस्ता सेवाग्राहीले जग्गासम्वन्धि काम लिएर अब हरिवन वा मलङ्गवा धाउनुपर्ने छैन् ।
अनलाइन अपडेट नभएका सेवाग्राही भने यसअघि आफूले सेवा लिँदै आएको साबिकको मालपोत तथा नापी कार्यालय हरिवन तथा मलङ्गवा नै जानुपर्ने छ । अनलाइन दर्ता गराएपछि अन्य सेवा लिनका लागि भने बयलवास नै फर्कनुपर्ने देवकोटाले उज्यालो अभियानसँग बताए ।