logo
  • बिहिबार, साउन १४, २०८३ / Thursday, Jul, 30 ,2026

९ करोड ४० लाख बजेट फ्रिज, फिर्ता गरिदिन गाउँपालिका अध्यक्षको माग


  • उज्यालो अभियान

चन्द्रनगर, ०९ साउन – गएको आर्थिक वर्ष २०८२/८३ मा फ्रिज भएको ९ करोड ४० लाख रुपियाँ बजेट पुनः उपलब्ध गराइदिन सर्लाहीको चन्द्रनगर गाउँपालिकाले माग गरेको छ ।

आज बिहान गाउँपालिका अध्यक्ष राजकुमार महतोले गौचरणमा पत्रकार सम्मेलन गर्दै गाउँगौरवका ठुला आयोजनाको बजेट फेरि पठाइदिन संघ सरकारसँग माग गरेका हुन् । गाउँपालिका अध्यक्ष महतोले प्रमुख प्रशासकीय अधिकृत जयकिशोर साह र इन्जिनियर राजेशकुमार यादवका कारण बजेट फ्रिज भएको आरोपसमेत लगाएका छन् ।

सानो पालिका लागि ९ करोड ४० लाख रुपियाँ बजेट खर्च हुन नसकेर फिर्ता हुँदा यहाँका नागरिकका लागि ठूलो क्षति पुगेको अध्यक्ष महतोको भनाइ छ ।

चन्द्रनगर ६ मा १५ बेडको अस्पताल निर्माणका लागि आएको तीन करोड, निर्माणाधीन गाउँपालिका कार्यालय भवनका लागि प्राप्त एक करोड २६ लाख, नाढीमन तालको विकास, पुनर्निर्माण र सौन्दर्यकरणको ४२ लाख, वडा नं. १ र ६ को कालोपत्रे सडकका लागि प्राप्त एक करोड पाँच लाख, विद्यालय भवन निर्माणका लागि ५५ लाख र पोषणका लागि सोहजन अन्तर्गत मोरिङ्गा फ्याक्ट्री बनाउन विनियोजित दुई करोड ५० लाख रुपियाँ बजेट फिर्ता भएको छ ।

आफूले बारम्बार ताकेता गर्दा पनि प्रमुख प्रशासकीय अधिकृत साह र र इन्जिनियर यादवले ठेक्का निकाल्न अटेरी गर्दा बजेट फ्रिज भएको उनको आरोप छ ।

यसबारेमा असार २६ गते भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावललाई भेटेरै तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ज्ञापन पत्र बुझाउँदै बजेट घाटाको क्षतिपूर्ति दिन मागसहित ज्ञापन पत्र बुझाइएको अध्यक्ष महतोले पत्रकार सम्मेलनमा पत्रकारमाझ सुनाए ।

तर, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जयकिशोर साहले भने गाउँपालिका अध्यक्षबाट आफू र इन्जिनियरलाई बदनाम मात्र गराउन खोजिएको दावी गरेका छन् ।

काम नै नभएको योजनाको बजेट निकासाका लागि दबाब दिइएको प्रमुख प्रशासकीय अधिकृत साहको आरोप छ । उनले आज दिउँसो उज्यालो अभियानसँगको कुराकानीमा केही आयोजनामा अघिल्ला आर्थिक वर्षहरुदेखि नै त्रुटी देखिएकाले काम गर्न नसकिएको दावी गरेका छन् ।

बिचमा जेनजी आन्दोलन, निर्वाचन आचारसंहितालगायतले पनि योजनाहरु छुटेका प्रमुख प्रशासकीय अधिकृत साहले बताए । बजेट फ्रिज हुनुमा आफूहरुको कुनै दोष नरहेको प्रमाणसहितको कागजात मन्त्रालयमै गएर बुझाएको प्रमुख प्रशासकीय अधिकृत साहको भनाइ छ ।

बजेट फ्रिजसम्वन्धी घटनाले चन्द्रनगर गाउँपालिकामा जनप्रतिनिधि र कर्मचारीबिच तित्तता बढ्ने अवस्था आएको छ ।