logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

भारी वर्षापछि बागमतीमा यो वर्षकै ठूलो बाढी


  • उज्यालो अभियान

बागमती नदीमा आज दिउँसो २ बजेतिर आएको बाढी । (तस्बिर : उज्यालो अभियान)

बागमती, २९ असार – बागमती नदीमा सोमबार यो वर्षकै सबैभन्दा ठूलो बाढी आएको छ ।

सर्लाही र रौतहटको सीमास्थित नुनथरस्थित बागमती नदीमा अवस्थित पधेरादोभान जल मापन केन्द्रमा सोमबार मध्यान्ह १२ बजेको मापन अनुसार, बागमती नदीको जलसतह यो वर्षकै सबैभन्दा धेरै ३.९० मिटर मापन भएको छ । आज अपरान्ह ४ बजे भने जलसतह घटेर ३.३० मिटर मापन भएको जल तथा मौसम विज्ञान विभागको पधेरादोभान जलमापन केन्द्रमा कार्यरत जलमापन सहायक (गेज रिडर) राजु पाटा मगरले उज्यालो अभियानसँग बताएका छन् ।

दिउँसोदेखि पानी पर्न रोकिएपछि बागमती नदीमा पानीको सतह पुनः घट्न थालेको छ । हालसम्म बाढीले खतराको तह पार नगरे पनि आज साँझतिरबाट काठमाडौँलगायत पहाडी क्षेत्रतिर पुनः पानी परिरहेको हुँदा जुनसुकै बेला फेरि बाढी बढ्न सक्ने भएकाले महेन्द्र राजमार्गदेखि दक्षिणतर्फको तटीय क्षेत्रका वासिन्दालाई सचेत र सजग रहन स्थानीय प्रशासनले आग्रह गरेको छ ।

सर्लाहीमा भने सोमबार दिउँसोदेखि पानी परेको छैन् । मौसम धाम्मधुम्म भइ राति पुनः वर्षाको सम्भावना देखिन्छ ।

यहाँ पानी परेर शित्तल हुँदा स्थानीयले गर्मीबाट भने तत्काललाई राहत पाएका छन् ।

सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेले जिल्लामा सोमबार साँझसम्म कहीँकतै डुबान तथा कटानको समस्या नदेखिएको उज्यालो अभियानसँग बताए । मौसम प्रतिकूल रहेको र वर्षा हुनेक्रम जारी नै रहेकाले सुरक्षा निकाय ‘अलर्ट’ अवस्थामै रहेको सहायक सिडिओ घिमिरेले बताएका छन् ।