घाइते विवेक मण्डल ।
गोडैता, २६ असार सर्लाहीको गोडैता नगरपालिका–१०, सिसौटियामा आज दिउँसो एक युवकले आफ्नै शरीरमा पेट्रोल छर्किएर आगो लगाएका छन् ।
सिसौटियाका ४२ वर्षीय विवेक मण्डलले घरदेखि करिव २०० मिटर पर शरीरमा पेट्रोल छर्किएर आगो लगाएका जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी वेदप्रसाद गौतमले जानकारी दिए । आफैले आफूलाई आगो लगाउँदा जलेर गम्भीर घाइते युवकको प्रादेशिक अस्पताल मलङ्गवामा प्राथमिक उपचार भइरहेको डिएसपी गौतमले बताए ।
घाइते युवकलाई थप उपचारका लागि काठमाडौं लैजान हेलिकप्टर मगाइएको छ । विराटनगरतर्फबाट आएको हेलिकप्टर मौसम खराबीका कारण आउन नसकेपछि काठमाडौँबाट अर्को हेलिहप्टर आइरहेको डिएसपी गौतमले बताएका छन् ।
युवकले आत्मदाहको प्रयास गर्नुको कारण खुल्न सकेको छैन् ।
सर्लाही क्षेत्र नं. ४ का प्रतिनिधि सभा सदस्य डा. अमरेशकुमार सिंहले यस घटनाको सम्वन्धमा आफूले प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुधन गुरुङलाई जानकारी गराइसकेको सामाजिक सञ्जाल फेसबुकमा उल्लेख गरेका छन् ।
काठमाडौँमा बिहीबार पेट्रोल छर्किएर आफ्नै शरीरमा आगो लगाइ आत्मदाहको प्रयास गरेका मुगुका गणेश नेपालीको शुक्रबार मात्र निधन भएको थियो ।
काठमाडौँको उक्त घटना सेलाउन नपाउँदै सर्लाहीको गौडेतामा सोही प्रकारको अर्को घटना भएको हो ।