logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

धान रोपाइँमा जोताइ खर्च महँगो, कामदार अभाव


  • उज्यालो अभियान

धान रोप्दै गरेका रोपाहार ।

लालबन्दी, २३ असार – धान रोपाइँमा ब्यस्त रहेका किसान यो वर्ष महँगो जोताइ खर्च र कामदार अभावको मारमा परेका छन् ।

ट्याक्टरबाट खेत जोत्दा प्रतिघण्टा दुई हजार पाँच सय रुपियाँसम्म लिने गरिएको किसानको भनाइ छ । डिजल महँगो हुँदा गत वर्षको तुलनामा यो वर्ष जोताइ खर्च प्रतिघण्टा एक हजार रुपियाँले बढेको किसानले बताएका छन् ।

किसानले गत वर्ष धान रोपाइँका लागि ट्याक्टरबाट खेत तयार पार्दा प्रतिघण्टा एक हजार पाँच सय रुपियाँदेखि एक हजार सात सय रुपियाँसम्म तिरेका थिए । एक साताअघि डिजलमा प्रतिलिटर ३० रुपियाँ मुल्य घटे पनि जोताइ खर्च प्रतिघण्टा दुई हजार पाँच सय रुपियाँ नै रहेको किसानको गुनासो छ ।

लालबन्दी नगरपालिका–१६, परवानीपुरका किसान कृष्ण गौतमले जोताइ खर्च महँगो हुँदा किसानलाई मार परेको गुनासो गरेका छन् । मकै थ्रेसर लगाउँदादेखि अहिले धान रोप्ने बेलासम्म ट्याक्टर खर्च महँगो हुँदा गत वर्षभन्दा दोब्बर बढी लागत लागेको गौतमको भनाइ छ ।

अधिकांश किसानले अहिले गोरु पाल्न छाडेका छन् । भीरालो जग्गामा बाहेक अन्यत्र ट्याक्टरमार्फत नै खेत जोत्ने गरिएको छ ।

जोताइ खर्च, किटनाशक विषादी र मलमा महँगी खेपेका किसानले रोपाइँका लागि कामदार नपाएको गुनासो गरेका छन् । खेतका आलीभित्ता खन्न, धानको ब्याड उखेल्न र धान रोप्न कामदार पाउनै मुस्किल रहेको किसानले गुनासो गरेका छन् ।

सबैतिर एकसाथ रोपाइँ सुरु भएकाले किसानलाई कामदार पाउनै मुस्किल परेको हो । हरिवन नगरपालिका–५, घुर्कौलीका किसान टेकबहादुर पाख्रिनले गाउँघरमा काम गर्ने उमेरका अधिकांश मानिस ज्याला मजदुरीका लागि अन्यत्र गएका र वैदेशिक रोजगारीमा जानेहरु पनि धेरै रहेकाले खेतबारीमा काम गर्ने मानिस पाउनै मुस्किल रहेको बताएका छन् ।

खेतबारीमा काम गर्ने परिपाटी विस्तारै हराउँदै गएसँगै धान रोपाइँसहित अन्य बाली लगाउने समयमा कामदार पाउनै मुस्किल रहेको पाख्रिनले बताए । कृषि ज्ञान केन्द्र सर्लाहीको तथ्याङ्क अनुसार जिल्लाभर ४५ हजार हेक्टर भन्दा बढी क्षेत्रफलमा धान खेती हुने गरेको छ ।

कार्यालयका प्रमुख एवं वरिष्ठ कृषि प्रसार अधिकृत कमलदेवप्रसाद कुशवाहाले सबै किसानको पहुँचमा आधुनिक कृषि यन्त्र, उपकरण नपुग्दा कामदारकै भर पर्नुपर्ने अवस्था रहेको बताए । इन्धनको मुल्य वृद्धिपछि यो वर्ष किसानलाई हरेक बाली लगाउँदा स्वभाविक रुपमा लागत बढेको कृषि ज्ञान केन्द्रका प्रमुख कुशवाहले बताए ।