मनिषबहादुर बुढाथोकी/हरिवन, २२ असार – हरिवन नगरपालिका २ पाकरगाछीमा आज सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।

हरिवन नगरपालिकाको सहयोग तथा सामुदायिक एकता सञ्चार सञ्जालको आयोजनामा चालु आर्थिक वर्ष २०८२/८३ को हरिवन नगरपालिका १, २, ३ र ४ वडा स्तरीय सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा सहभागी अधिकांशले अहिले धान रोप्ने समयमा मलखादको चरम अभाव भएको, कालोबजारीमा छ्यापछ्याप्ती बिक्री भइरहेको र लागुऔषधको बढ्दो प्रयोग तथा ओसारपसारले समाजमा अपराध बढेकोप्रति चिन्ता व्यक्त गरेका छन् ।

सार्वजनिक सुनुवाई कार्यक्रममा आफ्नो मन्तव्य राख्दै स्थानीय वासिन्दाहरु श्यामसुन्दर महतो, केशवप्रसाद उप्रेती, राजेन्द्र महतो, गिरिराज खरेललगायतले खेती गर्न मलखाद नपाउँदा समस्या परेको, सामुदायिक विद्यालयमा राम्रोसँग पठनपाठन हुन नसकेको, दक्ष शिक्षक नराखिएको, दुध बिक्री गर्ने भरपर्दो ठाउँ नभएको, आफ्नो नक्साभन्दा बढी जग्गा भोगचलन गरिएको, लागुऔषधको दुर्व्यसनी बढेको, खुलेयाम जुवातास खेलिएको जस्ता गुनासो राखेका छन् ।

सहभागीले राखेको गुनासोको हरिवन नगरपालिका १ देखि ४ सम्मका वडाध्यक्षहरु क्रमश : टमबहादुर तामाङ, अर्जुन योञ्जन, दीपमान लोप्चन र केशवराज थापा, हरिवन नगरपालिकाको शिक्षा शाखाका प्रमुख हरि दाहाल, सशस्त्र प्रहरी बल हरिवन बेश क्याम्पका निमित्त इन्चार्ज इन्स्पेक्टर कृष्ण गुरुङलगायतले जवाफ दिएका छन् ।

वक्ता वडाअध्यक्षहरुले साबिक अत्रौली र सासापुर गाविसमा पर्ने हरिवन १, २, ३ र ४ लाई विकट ठाउँबाट सुगम बनाउन सडक, पुलपुलेसा, नाला, खानेपानी, विद्यालयलगायतको क्षेत्रमा थुप्रै काम गरेको दावी गरेका छन् । वडाध्यक्षहरुले भने मलखादको अभाव र समाजमा धेरै युवापुस्ता लागुऔषधमा फस्नु चिन्ताको विषय रहेको बताए ।

कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, वडा सचिव, संचारकर्मी, सुरक्षाकर्मी, स्थानीय भद्रभलादमी, वुद्धिजिवी, शिक्षक, अभिभावक, विद्यार्थीलगायतको उपस्थिति रहेको थियो ।
