logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

सर्लाहीका पत्रकारका लागि आयोजित ३ दिने तालिम सम्पन्न


  • उज्यालो अभियान

लालबन्दी, ०७ असार – सर्लाहीका पत्रकार तथा संचारकर्मीका लागि लालबन्दीमा आयोजित तीन दिने तालिमको आइतबार समापन गरिएको छ ।

नेपाल पत्रकार महासंघ शाखा सर्लाहीको आयोजना तथा लालबन्दी नगरपालिकाको आर्थिक सहयोगमा असार ५ गतेदेखि आयोजित तालिमको आइतबार समापन गरिएको हो । तालिममा सर्लाही जिल्लाभर क्रियाशील ४० जना पत्रकार सहभागी भएका थिए ।

सहभागीलाई आज प्रमाणपत्र वितरण गर्दै तालिमको समापन गरिएको हो । तालिमको समापन गर्दै लालबन्दी नगरपालिकाका प्रमुख वासुदेव अधिकारीले मुलुकमा अहिलेको लोकतान्त्रिक व्यवस्था ल्याउन पत्रकारको अमूल्य भूमिका रहेको प्रशंसा गर्दै आगामी दिनमा यस्ता क्षमता अभिवृद्धि कार्यक्रम आयोजनका लागि नगरपालिकाको तर्फबाट सहयोग गरिरहने प्रतिवद्धता व्यक्त गरे । उनले नगरपालिकाबाट भएका गरेका राम्रा तथा नराम्रा सबै कामका समाचार लेख्न तर सत्यता र वास्तविकता बुझिदिन आग्रह गरे ।

लालबन्दी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पितानाथ लुईटेलले पत्रकारको हित तथा विकासका लागि नगरपालिकाले कानून संगत मिल्ने सहयोग गरिरहने प्रतिवद्धता व्यक्त गरेका छन् ।

तालिमका सहभागीलाई पत्रकारिता आचारसंहितालगायतका विषयमा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष धर्मेन्द्र झा र मल्टीमिडियाका सम्वन्धमा उज्वल ढुंगानाले प्रशिक्षण प्रदान गरेका छन् ।

सहभागीलाई नगरप्रमुख अधिकारी, प्रमुख प्रशासकीय अधिकृत लुईटेल, प्रमुख प्रशिक्षक झा, मिडिया काउन्सिल मधेश प्रदेशकी अध्यक्ष बन्दना झा, नेपाल पत्रकार महासंघ सर्लाही शाखाका अध्यक्ष ओमप्रकाश ठाकुर, महासंघका पूर्व अध्यक्षहरु शंकर श्रेष्ठ, रोशन न्यौपाने, टंकबहादुर क्षेत्रीलगायत भएर प्रमाणपत्र वितरण गरेका छन् ।