हरिपुर्वा, ०७ असार – सर्लाहीको हरिपुर्वा नगरपालिकालाई आज पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ ।
हरिपुर्वा नगरपालिकाका नगरप्रमुख विनोदकुमार साह तेलीको अध्यक्षता, नगर उपप्रमुख सुमित्रादेवी ग्वारिनको विशिष्ठ आतिथ्यता र स्वास्थ्य कार्यालय मलंगवाका तथ्यांक अधिकृत लालबाबु रायको विशिष्ठ आतिथ्यतामा हरिपुर्वालाई पूर्णखोप सुनिश्चितता नगरपालिका घोषणा गरिएको हो । नगरपालिकाको सबै वडामा १६ महिनादेखि २३ महिनासम्मका बालबालिकाको सर्भेक्षण गर्दा सम्पूर्णले आवश्यक खोप प्राप्त गरेको पाइएसँगै पूर्णखोप सुनिश्चितता नगरपालिका घोषणा गरिएको हो ।

केही साताअघि प्रत्येक वडामा घरधुरी सर्भेक्षण गरी बालबालिकाले पाउनुपर्ने खोप लगाए/नलगाएको विवरण संकलन गरिएको थियो । सोक्रममा छुट भएका बालबालिकालाई बैशाख महिनामा पूर्णरुपमा खोप लगाएर पूर्णखोप सुनिश्चितता नगरपालिका घोषणा गरिएको हरिपुर्वा नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
पूर्णखोप सुनिश्चितता कार्यक्रममा नगरपालिका कार्यालयले नगरभित्र कार्यरत स्वास्थ्यकर्मीलाई सम्मानसमेत गरेको छ ।