हरिवन, २४ जेठ – राष्ट्रिय स्वतन्त्र पार्टीकाे जिल्ला अधिवेशन अनिश्चित स्थगित भएकाे छ ।
अधिवेशनस्थल हरिवनकाे सरस्वती पाटी प्यालेसमा आइतबार दिनभर जिल्लाभरका कार्यकर्ताहरु जम्मा भएका थिए । पाैने ४ बजेतिर अधिवेशन स्थगितकाे सूचना पढेर सुनाइएकाे छ । मतदाता नामाबली लगायतमा प्रकृयागत त्रुटी भएकाले अधिवेशन स्थगित गर्नु परेकाे निर्वाचन जिल्ला समितिका संयाेजक डा. जय प्रकाश महताेद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।
`विशेष गरी, पालिका अधिवेशनका आवश्यक कागजातहरू अपूर्ण रहेको, निर्वाचित प्रतिनिधिहरूको विवरण केन्द्रीय डिजिटल पोर्टलमा प्रविष्टि हुन बाँकी रहेको र स्वीकृत कार्यविधिअनुसार कतिपय प्रक्रियामा प्राविधिक त्रुटि देखिएको हुँदा तत्काल निर्वाचन अगाडि बढाउन असम्भव हुन आएको छ ।’, विज्ञप्तिमा भनिएकाे छ, `उक्त विषयमा थप विवाद सिर्जना हुन नदिन, सबै पक्षको धारणा सुन्न तथा आवश्यक छानबिन, समन्वय एवं डिजिटल प्रमाणीकरणका लागि आज मिति २०८३/०२/२४ गते हुन गइरहेको जिल्ला अधिवेशनको निर्वाचन कार्यक्रम हाललाई अर्को सूचना नआउन्जेल सम्मको लागि स्थगित गरिएको व्यहोरा जानकारी गराउन चाहन्छौं ।’
अधिवेशन स्थगितकाे सूचना आएपछि बिहानैदेखि कार्यक्रममा उपस्थित कार्यकर्ताहरुले आक्राेश व्यक्त गरेका थिए । चर्काे गर्मीमा उपस्थित गराउने अनि अन्तिम समयमा स्थगित गर्ने भन्दै कार्यक्रमस्थलमा घम्साघम्सि र भनाभन समेत भएकाे थियाे । एक कार्यकर्ताका अनुसार सुरक्षाकर्मीहरुले स्थिती नियन्त्रणमा राखेका कारण झडपकाे ठूलाे घटना हुनबाट राेकिएकाे छ ।
जिल्ला अध्यक्षका लागि मुख्य गरी वर्तमान अध्यक्ष सराेज वानियाँ, कृष्णनन्दन यादव लगायतले उम्मेदवारी घाेषणा गरेका छन् । सर्वसम्मत नहुने भएपछि नेतृत्वले अधिवेशन नै स्थगित गरेकाे एक कार्यकर्ताले बताए ।
