बागमती, २६ बैशाख – राष्ट्रिय भूमि अधिकार मञ्च सर्लाही तथा भूमिहिन, सुकुम्बासी तथा अव्यवस्थित बसाेबास संघर्ष समितिकाे आयाेजनामा शुक्रबार दिउँसाे बागमतीमा आयाेजित विराेध प्रदर्शनमा नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठ सहभागी भएका छन् ।
भूमि तथा आवास अधिकारको माग गर्दै बागमती नगरपालिका मा आयोजित वृहत् र्याली तथा सभामा सहभागितासहित संक्षिप्त सम्बाेधन गर्दै श्रेष्ठले आन्दोलनप्रति ऐक्यबद्धता जनाएका हुन् । पानी परेपनि सयाैंकाे संख्यामा उपस्थित भएका सर्बसाधारणले बागमतीकाे पुतली चाेकबाट फुटबल मैदानसम्म विभिन्न नाराबाजी सहित र्याली प्रदर्शन गरेका थिए ।
यद्यपी सागरनाथ वन विकास परियाेजनाकाे जमिन लगायत विभिन्न क्षेत्रमा वास्तविक सुकुम्बासी भन्दापनि अन्यत्र समेत पर्याप्त घर तथा जग्गा जमिन भएका `हुकुम्बासी’ हरुले अतिक्रमण गरेकाे चर्चा विगत लामाे समयदेखि बहसकाे विषय बनिरहेकाे छ । सागरनाथकाे जमिनमा अन्यत्र एक टुक्रापनि जमिन नभई बसाेबास गर्ने परिवार अत्यन्त न्यून रहेकाे चर्चा चल्दै आएकाे छ ।
२०८२ फागुन २१ काे प्रतिनिधि सभा सदस्य निर्वाचनमा सर्लाही क्षेत्र नम्बर ३ बाट नेपाली कम्युनिष्ट पार्टीका प्रत्यासी समेत रहेका पूर्व उपप्रधानमन्त्री एवं गृह मन्त्री श्रेष्ठ तीन दिने कार्यक्रमअन्तर्गत शुक्रबार सर्लाही आएका थिए । उनले शुक्रबार बागमती नगरपालिकाका विभिन्न वडा वस्तीहरुमा पुगेर मतदातासँग संवादसहित अन्तरक्रिया गरेकाे र शनिबार बरहथवा नगरपालिका तथा आइतबार हरिवन नगरपालिकाका विभिन्न वडा तथा बस्तीमा पुगेर स्थानीय जनतासँग भेटघाट तथा अन्तरक्रिया गर्ने कार्यक्रम रहेको पार्टीले जनाएकाे छ ।
नेता श्रेष्ठले निर्वाचनमा हार-जित जे भए पनि आफू सधैं सर्लाहीका जनताको साथमा रहने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले क्षेत्रबासी जनताको समस्या बुझ्न, सुझाव लिन तथा प्रत्यक्ष संवाद गर्न नियमित रूपमा सर्लाही आउने बताउँदै आएका छन् ।