logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

सशस्त्रले साँढे ५ कराेड बढीकाे सामान भन्सार बुझायाे


  • उज्यालो अभियान

फाइल तस्बिर

कविलासी, २४ वैशाख – सशस्त्र प्रहरीले सर्लाहीबाट चालू आर्थिक वर्ष अन्तर्गत हालसम्म ५  करोड ६८ लाख १५ हजार ९ सय ८ रुपैँया ६ पैसा बराबरको अवैध सामान बरामद गरी भन्सार कार्यालयमा दाखिला गरेकाे छ ।

जिल्लास्थित विभिन्न युनिटबाट खटिएकाे टाेलीले विभिन्न मितिमा उक्त सामानहरु बरामद् गरी आवश्यक कारबाहीका लागि भन्सार कार्यालय सर्लाहीमा बुझाइएकाे सशस्त्र प्रहरी बल नम्बर १० गण सर्लाहीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक अमर बहादुर खत्रीले जानकारी दिए । अधिकांश बरामद सामानहरु भारतबाट गैरकानूनी ढंगले चाेरी तस्करी भइरहेकाे अवस्थामा बरामद भएकाे हाे ।

त्यसैगरी विभिन्न जातका २४१८.२८ क्युविक फिट काठ, लागु औषध नियन्त्रण अभियान अन्तर्गत ३१८.८ किलाे गाँजा, १४२५० मिलिलिटर (१४३ बोतल) प्रतिबन्धित लागूपदार्थ बरामद् तथा पटक-पटक विभिन्न अपराधमा संलग्न ५ जनालाई पक्राउ गरी आवश्यक कारबाहीका लागि सम्बन्धित कार्यालयमा बुझाइएको सप्रउ खत्रीले जानकारी दिए । त्यस्तै मानव बेचविखनतर्फ ८ जनाको उद्दार गरी सम्बन्धित परिवारलाई बुझाईएको र हुण्डीको आशंकामा ५ लाख ४३ हजार ८९६ रुपैंया बरामद गरी भन्सार कार्यालयमा बुझाइएकाे छ ।

त्यस्तै बाढी डुवानमा फसेका २३ जनाको सकुशल उद्धार गरिएकाे र सीमाबासीसँग सशस्त्र प्रहरी कार्यक्रम अन्तर्गत २ कोठे पक्की सार्बजनिक साैचालय निर्माण, १ चापाकल बाेरिङ गरिएकाे सप्रउ खत्रीले जानकारी दिए । त्यसैगरी गणमा ४ पटक रक्तदान कार्यक्रम संचालन गर्नुका साथै  लागूऔषध, सीमा अपराध, विपद् जोखिम न्यूनिकरण जस्ता बिषयमा १०९ वटा सचेतनामुलक कक्षा संचालन गरिएको र विपद् व्यवस्थापन सम्बन्धी ४ वटा अभ्यास संचालन गरिएको छ ।

भारतीय सीमाबाट हुने गैर कानूनी कार्यहरु नियन्त्रणसहित जिल्लास्थित अन्य स्थानमा हुने गैरकानूनी एवं अपराधिक कार्य नियन्त्रणमा समेत सशस्त्र प्रहरी बलले सकृय रुपमा काम गरिरहेकाे सप्रउ खत्रीले जानकारी दिए । सर्लाहीमा सशस्त्र प्रहरीकाे एउटा गण हेडक्वाटरसहित, २ वटा गुल्म, ९ वटा बीओपी र ७ वटा बेस क्याम्प रहेकाे छ ।