लालबन्दी, १२ बैशाख – गर्मी अत्यधिक बढ्न थालेसँगै सर्लाहीसहित मधेश क्षेत्रको जनजीवन प्रभावित बन्न थालेको छ ।
यहाँ दिनभर टन्टलापुर घाम लाग्ने तथा रातको समयमा समेत हावा चल्न छाडेर गुम्म भई गर्मी हुँदा जनजीवन प्रभावित बनेको हो । रातदिन नै गर्मी बढ्न थालेसँगै मानिसको दैनिकी नै प्रभावित बन्न थालेको छ ।
गर्मीका कारण मानिसमा टाउको दुख्ने, चक्कर लाग्ने, शरीर आलस्य हुने, एलर्जी हुनेजस्ता स्वास्थ्य समस्या बढ्न थालेका छन् । यो समयमा सकेसम्म घरभित्रै शित्तल ठाउँमा बस्न, पर्याप्त पानी पिउन, सर्वत्र, सातु, फ्रेस जुसलगायत शरीरलाई फूर्तिलो राख्ने खानेकुरामा बढी जोड दिन चिकित्सकले आग्रह गरेका छन् ।
विद्यालयहरु धमाधम खुल्न थालेसँगै गर्मी बढेपछि बालबालिका प्रभावित भएका छन् । विभिन्न निर्माणको काम गरिरहेका मजदुर, मकै भित्र्याउने, चैते धान रोप्नेलगायतका काममा ब्यस्त रहेका किसान चर्को घाम र अचाक्ली गर्मीले प्रभावित बनेका छन् ।
गर्मी बढेसँगै जिल्लाको चुरेवर्ती क्षेत्रमा खानेपानीको समस्या पुनः बढ्न थालेको छ भने सुक्खापनका कारण वन क्षेत्रहरुमा डढेलोसमेत सुरु भएको स्थानीयले जानकारी दिएका छन् ।