logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

कृषि विश्वविद्यालयको सम्वन्धमा सार्वजनिक सुनुवाई हुँदै


  • उज्यालो अभियान

परवानीपुर, १० बैशाख – लालबन्दी नगरपालिका १६ परवानीपुरमा काठमाडौं विश्व विद्यालयले निर्माण गर्न लागेको कृषि विश्व विद्यालयका सम्वन्धमा आज सार्वजनिक सुनुवाई गरिँदै छ ।

प्रस्ताविक स्कुल अफ एग्रिकल्चरको पूर्वाधार निर्माण तथा शैक्षिक कार्यक्रम संचालन गर्ने कार्यको प्रारम्भिक वातावरणीय परीक्षणका लागि सार्वजनिक सुनुवाई गर्न लागिएको हो । चुरेपाखास्थित लालबन्दी नगरपालिका १५ परवानीपुर बोहोरेडाँडामा रहेको पुष्पलाल स्मृति पार्कमा बिहान १० बजेपछि कार्यक्रम आयोजना गरिएको छ । सोही सन्दर्भमा हिजो त्यहाँ सरसफाई गरिएको छ ।

आज हुन लागेको काठमाडौं विश्व विद्यालयको सार्वजनिक सुनुवाई कार्यक्रमलाई मध्यनजर गर्दै युवाहरु मिलेर सरसफाई गरेका हुन् । मिरमिरे युवा क्लबको अगुवाईमा युवाहरु मिलेर पर्यटकीयस्थल समेत रहेको पार्क क्षेत्रमा सरसफाई गरिएको क्लबका अध्यक्ष सोनाम तामाङले जानकारी दिए ।

सरसफाई कार्यक्रममा प्रदेश सभा सदस्य बेची लुंगेली, लालबन्दी १५ र १६ का वडाध्यक्ष क्रमशः गोरखबहादुर बल र गणेशबहादुर थापा, पुष्पलाल स्मृति पार्क व्यवस्थापन समितिका अध्यक्ष उद्धव पाठक, युवा जय गोलेलगायतको पनि उपस्थिति रहेको थियो ।

लालबन्दी नगरपालिकासँग समन्वय गरी काठमाडौं विश्व विद्यालयले परवानीपुरमा निर्माण गर्न लागेको कृषि विश्व विद्यालयका सम्वन्धमा आज सार्वजनिक सुनुवाई कार्यक्रम गर्न लागिएको नगरप्रमुख वासुदेव अधिकारीले उज्यालो अभियानसँग बताए ।