logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

दिउँसोपख चल्न थाल्यो तातो हावा, जनजीवन प्रभावित


  • उज्यालो अभियान

लालबन्दी, ०८ बैशाख – सर्लाहीसहित तराई मधेश क्षेत्रमा आजदेखि दिउँसोपख तातो हावा चल्न थालेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाको पूर्वानुमान अनुसार नै यहाँ गर्मी बढेर दिउँसोपख तातो हावासमेत चल्न सुरु भएको हो । तातो हावाका कारण मानिसलाई मध्यान्हपख घरबाहिर निस्कन नै मुस्किल पर्न थालेको छ ।

यो वर्ष मध्य चैतसम्म बेलाबेलामा वर्षा भएर शित्तलता नै महसुस भइरहे पनि त्यसयता भने दिनभर टन्टलापुर घाम लाग्न थालेर गर्मी असाध्य बढेको छ । चर्को गर्मीसँगै आजदेखि तातो हावासमेत चल्न थालेपछि हिँड्डुलमै समस्या पर्न थालेको हो ।

तातो हावा बहँदा मध्यान्हपख सडक, बजारमा मानिसको उपस्थिति पातलिएको छ । चर्को घाम, उखरमाउलो गर्मी र तातो हावाका कारण मजदुर र किसान बढी प्रभावित बनेका छन् ।

विद्यालय खुल्न बाँकी नै रहेकाले बालबालिका भने घरमै छन् । मधेशमा हिजोआज घर बनाउनेसहित अन्य विकास निर्माणको काम गर्ने समय हो । मजदुरहरु चर्को घाम र गर्मीको बाबजुत मजदुरीमा खटिएका छन् ।

यहाँ मकै भाच्ने, गहुँ भित्र्याउने, मल छर्नेलगायत काममा ब्यस्त रहेका किसानलाई चर्को घाम र तातो हावाले प्रभावित पारेको छ । तापक्रम बढेर हावाहुरी चल्न थालेसँगै वन क्षेत्रमा पुनः डढेलो लाग्ने जोखिम बढेको छ ।

चैत पहिलो साता पूर्वपश्चिम राजमार्ग क्षेत्रका जंगल, चुरेपाखा र अन्य वनहरुमा भीषण डढेलो लागेकोमा पानी परेर आफै निभेको थियो । सुक्खा बढेसँगै चुरेवर्ती क्षेत्रमा पुनः खानेपानीको समेत समस्या सुरु भएको छ ।

यसैबिच, देशका विभिन्न भागमा बढ्दो तापक्रमसँगै तातो हावाको लहर अर्थात् लू को जोखिम अझै केही दिन कायम रहने भएको छ । जल तथा मौसम विज्ञान विभागले पर्सि बिहिवारसम्म तराईका केही जिल्लामा लू चल्ने सम्भावना रहेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

विभागका अनुसार आज दिउँसो लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ । धनगढी र नेपालगञ्जमा ४३ डिग्री, भैरहवामा ४४ डिग्री र काठमाण्डौमा ३३ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ ।

विभागका मौसमविद् विनु महर्जनका अनुसार पूर्वी भूभागमा शनिवारसम्म र पश्चिम क्षेत्रमा अझै केही दिन बढी तातो रहने सम्भावना छ । उनले दिउँसोको समयमा अत्यावश्यकबाहेक बाहिर ननिस्कन, चिसो तथा हावादार ठाउँमा बस्न, हल्का र पातलो कपडा लगाउन तथा प्रशस्त पानी र झोल पदार्थ सेवन गर्न सुझाव दिनुभयो ।

तातो हावा र उच्च तापक्रमका कारण थकान, अत्यधिक तिर्खा लाग्ने, टाउको दुख्ने, आँखामा पोल्ने, चक्कर आउने तथा बेहोस हुने जस्ता समस्या देखिन सक्ने विभागले जनाएको छ । बालबालिका, वृद्ध तथा दीर्घरोगीहरू विशेष जोखिममा पर्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ ।