(तस्बीर सौजन्य : लक्ष्मण यादव)
बरहथवा, ०६ बैशाख — सर्लाही क्षेत्र नं. ३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य नरेन्द्र साह कलवारले आफू भ्रष्टाचार गरेर कमाउने भन्दा इमान्दार व्यवसाय गरेर जीवनयापन गर्ने मान्छे भएको बताएका छन्।
आइतबार बरहथवामा आयोजित चुनावी समिक्षा कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफू सांसदसँगै सक्रिय व्यवसायी समेत रहेको स्पष्ट पार्दै पारदर्शिता र सुशासनप्रति आफ्नो प्रतिबद्धता रहेको बताएका हुन् ।
साहले निर्वाचनको समयमा आफ्नो नाम कालोसूचीमा परेको भन्ने भ्रम सिर्जना गरिएकोप्रति आपत्ति जनाउँदै त्यस्ता हल्ला निराधार भएको बताए। “राजनीतिमा बदनाम गराउने नियतले गलत प्रचार गरिएको हो,” उनले भने।
उनले स्वास्थ्य सेवाको सन्दर्भमा पनि टिप्पणी गर्दै “बिरामीले डाक्टर खोज्दैन, डाक्टरले बिरामी खोज्छ” भन्ने भनाइमार्फत सेवा दिने पक्ष अझ जिम्मेवार हुनुपर्ने धारणा व्यक्त गरे।
त्यसैगरी, सर्वसाधारणलाई सीमा क्षेत्रमा अनावश्यक दुःख नदिन प्रशासनलाई ध्यानाकर्षण गराइएको जानकारी दिँदै उनले जनतालाई सहज सेवा दिन सम्बन्धित निकायलाई आग्रह गरेका छन्।
साहका अनुसार विकास निर्माणसँगै सुशासनको प्रत्याभूति गराउनेतर्फ रास्वपा सरकार प्रतिबद्ध रहेको छ। उनले किसानका समस्या संकलन गरी आफूलाई उपलब्ध गराउन आग्रह गर्दै ती समस्याको समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाए।